कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले बताए । बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन, कांग्रेसको आन्तरिक एकता तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश लगायत विषयमा छलफल हुन लागेको हो । संस्थापन इतर समूहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।  बैठक छिटोमा दुई दिनसम्म चल्ने र आवश्यक भए लम्बिन सक्ने प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीभित्रको विवाद चर्किँदै गएपछि संस्थापन इतर समूहले नेतृत्वमाथि एकता कायम गर्न ठोस पहल नगरेको आरोप लगाउँदै छुट्टै राजनीतिक बाटो रोज्ने बताउँदै आएको छ ।  तर, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरेपछि इतर समूह तत्कालका लागि केही पछि हटेको देखिए पनि कांग्रेस विभाजनको तरबार पुर्णरूपमा हटेको छैन । सर्वोच्चको पछिल्लो आदेशपछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । इतर समूहले भने राष्ट्रिय भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी गरिरहेको नेता जितजंग बस्नेतले जानकारी दिए। 

सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढङ्गले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताए । उनले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाए । सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उनको भनाइ छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिए । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको उनको भनाइ छ । गाउँका किसान धान न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनले दाबी गरे । उनका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरे पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ । उनले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताए । देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिमा छलछाम हुन्छ, छलैछल हुन्छ । तीन महिना पहिले चुनावभन्दा अगाडि हामीले धेरै भाषण सुन्यौँ, विदेशमा काम गर्ने युवाहरूलाई भित्र्याउँछौँ भने, अहिले ती साथीहरू बाहिरै जाँदैछन् । यो देशमा सुशासन हुन्छ भन्थे, यो देश अब अनलाइनबाट चल्छ भन्थे, यो देश अब ग्यासको लाइनबाट चल्ने भएको छ । यो देशमा धेरै कुरामा हामी सुशासन दिन्छौँ भन्थे, नागरिकले प्रत्याभूति गर्छन्, महँगी भयो, भ्रष्टाचार भयो भन्थे । आज पढ्ने विद्यालयमा छोरीको फिस तिर्दा ट्याक्स तिर्नुपरेको छ ।’ चौधरीले सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै गएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनीसमेत दिए । सरकारले आफूहरूको माग र सुझावलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै चौधरीले नागरिकको आवाज बेवास्ता नगर्न सरकारलाई आग्रह गरे ।

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा–मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’ उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा राखे ।