रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिने जनाइएको छ ।
महामन्त्री पौडेलको स्पष्टोक्ति– पुरानो सदस्यता खारेज हुँदैन, झनै व्यवस्थित बनाउन खोजिएको हो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एकपटक आ-आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरूलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे। ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने, ‘यसमा कोही अलमलमा नपरौं ।’ महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए । महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए । महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए । ‘हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शितासमेत कायम गर्न सकिनेछ । कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए । कांग्रेसले जिल्ला सभापति मार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ । सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।
देउवा पक्षको निष्कर्स : पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि देउवा पक्षका पूर्वकेन्द्रीय सदस्यहरू आगामी रणनीति तय गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्को निवासमा जुटेका थिए । सो भेलाले पार्टीभित्रको विभाजन अन्त्य गर्दै एकताको वातावरण निर्माण गर्न वर्तमान नेतृत्व जिम्मेवार बन्नुपर्ने धारणा अघि सारेको हो । भेलामा सहभागी नेताहरूले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै त्यसपछिको राजनीतिक दिशाबारे गम्भीर छलफल सुरु भएको बताएका छन् । उनीहरूका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच अबको भूमिकाबारे स्पष्ट रणनीति बनाउन आवश्यक देखिएको छ । भेलापछि विकासन्युजसँग कुरा गर्दै नेता जितजंग बस्नेतले सर्वोच्चको निर्णयपछि पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल प्रारम्भ भएको जानकारी गराए । उनले भने, ‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो ।’ देउवा पक्षले एकता, समन्वय र समावेशितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीभित्र आफ्नो भूमिका तय गर्ने संकेत गरेको छ । यसले नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारणमा नयाँ बहस सुरु हुने देखिएको छ ।