सांसदहरूलाई निर्देशन दिँदै ओलीले भने- पार्टीविरुद्धको गतिविधि सह्य हुँदैन, संसदमा अनुशासन देखिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई कडा राजनीतिक निर्देशन दिएका छन् ।  पार्टी मुख्यालय च्यासलमा बिहीबार (आज) आयोजित अध्यक्षसँग सांसद कार्यक्रममा ओलीले सांसदहरूलाई देशको विचार पार्टीको विचार भएकोले त्यसैसँग मेल खानेगरी संसदमा बोल्नुपर्ने निर्देशन दिएका हुन् । कार्यक्रममा उनले सांसदहरूलाई सम्झाउँदै भने, ‘देशको विचार जे छ, त्यो पार्टीको विचार हुनुपर्छ । विचारमा आधारित अनुशासन र एकता प्रदर्शन संसदमा देखिनुपर्छ ।’  ओलीले यसक्रममा एमालेभन्दा प्रगतिशील र अनुशासित पार्टी अरू नभएको दाबी गर्दै सांसदहरूलाई आफ्नो कामबाहेक अरू मूल्याङ्कनमा ध्यान नदिन आग्रह गरेका छन् ।  उनले सांसदहरुलाई संसदमा एमालेको अनुशासन र एकताको प्रदर्शन गर्न जोड दिएका छन् । काम मात्रै मूल्याङ्कनको आधार रहेको उनको भनाइ छ ।  उनले पार्टी लाइनमा दृढ रहन र विवादास्पद विषयमा बाहिरका आलोचनाबाट विचलित नहुन सांसदहरुलाई निर्देशन पनि दिएका छन् । ओलीले भने, ‘पार्टी विरुद्धको गतिविधि सह्य हुँदैन ।’  उनले पार्टीको एकता र अनुशासन नै देशको हितमा आधारित हुने भन्दै सांसदहरूलाई जिम्मेवार हुन आग्रहसमेत गरे । ओलीले आफ्नो सम्बोधनमा एमालेविरुद्ध जारी राजनीतिक हमला र आलोचनालाई पनि केन्द्रबिन्दु बनाए । उनले कार्की आयोग र त्यसको प्रतिवेदनलाई यही सन्दर्भमा एउटा कडी भएको भन्दै आलोचना गरे ।  उनले भने, ‘पहिल्यै आफ्नो निष्कर्ष सुनाइसकेकाबाट फरक प्रतिवेदनको अपेक्षा गर्न सकिँदैनथ्यो उस्तै प्रतिवेदन आएको छ ।’ प्रधानमन्त्रीको जिम्मेवारीसम्बन्धी आयोगको निष्कर्षप्रति ओलीले गम्भीर प्रश्न उठाएका छन् । उनले मृत्युका घटनामा प्रधानमन्त्री कति जनाको मृत्युमा जिम्मेवार हुने भन्ने विषयमा विवाद उठाउँदै प्रतिवेदनलाई औपचारिक रूपमा खारेज गर्ने संकेत दिएका छन् ।  उनी भन्छन्, ‘आयोगका सदस्यहरूले लापरवाही र भवितव्यबारे पर्याप्त बुझाइ नभएको अवस्थामा प्रतिवेदन तयार पारेका छन् ।’ पार्टीको अनुशासन, विचार र एकता संसदमा देखिनुपर्ने र आयोगको विवादास्पद प्रतिवेदनलाई नजरअन्दाज गर्ने उनको नीति स्पष्ट देखिएको छ ।

देशको विचार नै एमालेको विचार हो : ओली

काठमाडौं । नेकपा एमालेको सांसदसँग अध्यक्ष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा एमालेका राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।  सांसदहरूलाई संशोधन गर्दै अध्यक्ष ओलीले सांसदहरूले देशको विचार बोल्नुपर्ने बताएका छन् । देशका विचार जे हो त्यही नै पार्टीको विचार हुनुपर्ने उनको भनाइ छ । विचार आधारित अनुशासन र एकता एमालेका सांसदहरूले संसदमा देखाउनुपर्ने ओलीले बताए। एमालेभन्दा प्रगतिशील र अनुशासित अरू पार्टी नभएको ओलीको दावीसमेत छ ।

शपथपछि रास्वपामा बढ्यो सक्रियता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल बैठक

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ । शपथ सकिएलगत्तै पार्टीले आजै अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसको ठीक एक घण्टापछि ५ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।  शपथ ग्रहणपछि रास्वपाका केन्द्रीय सदस्यहरू कार्यालय पुग्ने क्रम निरन्तर जारी रहेको छ, जसले पार्टीभित्रको सक्रियता र निर्णय प्रक्रियाको गतिलाई संकेत गरेको छ । प्रवक्ता मनिष झाका अनुसार आजका दुवै बैठक अत्यन्त महत्त्वपूर्ण रहनेछन् । विशेषगरी संसदीय दलको नेतृत्व चयन, संसदभित्रको रणनीति तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ । संसदमा रास्वपा १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।