कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् । पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् । पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् । यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।   

रास्वपाको केन्द्रीय समिति बैठक आज, संसदीय दलको नेतामा बालेन चयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको  छ । बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने पार्टीले जनाएको छ । केन्द्रीय समितिबाट औपचारिक निर्णय गराएपछि संसदीय दलले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको पार्टीका नेताहरूले बताएका छन् । यसअघि आजै नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । शपथ ग्रहणलगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाले संसदीय दलको नेतृत्व टुंग्याएर आगामी सरकार गठन प्रक्रिया तथा संसदीय रणनीति तय गर्ने तयारी गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले बैठकका निर्णय सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकका निर्णय तथा समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टीले जारी गरेको सूचनाअनुसार चैत्र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्वपूर्ण निर्णय, भावी रणनीति तथा वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी दिन उक्त पत्रकार सम्मेलन बोलाइएको हो । सम्मेलन चैत्र १२ गते बिहीबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आयोजना गरिने तय गरिएको छ ।