धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप पुष्टि भएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार आवश्यक प्रमाणका आधारमा साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पुष्टि भएपछि कानुनी व्यवस्थाअनुसार उम्मेदवारी अमान्य ठहर गरिएको आयोगले जनाएको छ । धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् ।
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ। अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले हालसम्म १४२ जनालाई नियन्त्रण गरिएको जानकारी दिए। निर्वाचन आचारसंहिता लागू भएपछि झण्डै डेढ सय जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार प्रहरी हिरासतमा ७६ जना छन् भने ६६ जना रिहा भइसकेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट विरोध गर्ने सोमबार मात्र ९ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।