समानुपातिक सांसद निशा मेहता स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं । स्वाथ्यमन्त्रीमा निशा मेहता नियुक्त हुने भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी क्लष्टरबाट समानुपातिक सांसद बनेकी हुन् । पेशाले स्वास्थ्यकर्मी रहेकी निशाको घर सुनसरीको इनरुवा हो । उनी नर्स भएपनि रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा आवद्ध थिइन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि रास्वपाले निशालाई समानुपातिक सांसद बनाउने प्रयास गरेको थियो ।  पहिलो पटक सफल नभएकी निशा दोस्रो पटक भने सांसदसँगै मन्त्री बन्न लागेकी हुन्। निशा सांसद बन्नु अघि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । सांसद बन्नु अघिल्लो दिनसम्म अस्पतालमा कार्यरत उनले सांसद बनेपछि राजीनामा दिएकी थिइन् ।

शिक्षामन्त्री बन्दै सस्मित पोखरेल

काठमाडौं । बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्न लागेको नयाँ सरकारको शिक्षामन्त्री सस्मित पोखरेल बन्ने भएका छन् ।  फागुन २१ गते  भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका पोखरेल शिक्षामन्त्री बन्न लागेका हुन् ।  पाेखरेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै पौडेललाई हराएका थिए । प्रदीपले भने ९ हजार १ सय ५९ मत प्राप्त गरेका थिए । उनीसँगै प्रतिस्पर्धामा नेकपा एमालेका ईश्वर पोख्रेल पनि प्रतिस्पर्धामा थिए । कांग्रेस र एमालेका प्रखर नेतालाई पराजित गर्दै सस्मितले संसदीय यात्रा तय गरी शिक्षामन्त्री बन्न लागेका हुन् ।

बालेनका विज्ञ सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्दै

काठमाडौं । सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छन् । ३५ वर्षीय लम्साल रूपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् ।  फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए ।  उनले खसेको ९६ हजार ८ सय ५९  सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।  काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा उनले पूर्वाधार एवं वातावरणविज्ञका रुपमा सचिवालयमा काम गरेका थिए ।