बालेनका ‘मास्टरमाइन्ड’ अब देशको पूर्वाधार कमाण्डर, यस्तो छ सचिवालयदेखि सिंहदरबारसम्मको यात्रा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका सुनिल लम्सालले प्रधानमन्त्री बालेन शाहसँगै शुक्रबार (आज) शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लम्सालले रुपन्देही १ बाट चुनाव जितेका थिए । उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए । उनले खसेको ९६ हजार ८ सय ५९  सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । सिभिल इन्जिनियर रहेका लम्साल विकास बुझेको नेताका रूपमा मतदाताको रोजाइमा परेको धेरैको बुझाइ छ । ३५ वर्षे लम्साल लामो समयदेखि पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले काठमाडौं महानगपालिका र बालेन्द्र शाह मेयर हुँदा उनको सचिवालयमा प्रमुख सल्लाहकार तथा भौतिक पूर्वाधार विज्ञका रुपमा काम गरेका थिए । यति मात्रै होइन, महानगरपालिकामा बालेनले चलाएको सुधार अभियान र पूर्वाधार विकासको पछाडि लम्सालको प्राविधिक र रणनीतिक दिमाग रहेको मानिन्छ । टुकुचा उत्खननदेखि, सडकका फुटपाथ विस्तार, र अलपत्र परेका आयोजनाहरूलाई गति दिने काममा उनले खेलेको भूमिकाका कारण बालेनले उनलाई देशकै पूर्वाधारको कमाण्ड समेत दिएका दिएका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । अहिले उनले काठमाडौं विश्वविद्यालयबाट सोलिड वेष्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि गर्दैछन् । लम्सालले काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका साथै यस क्षेत्रको भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल, सिंहदरबार पुन: निर्माणसहित देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकास परियोजनामा महत्त्वपूर्ण भूमिमा निर्वाह गरेर काम गरेका छन् । रूपन्देहीमा निर्माणाधीन एक्स्टा ओभल क्रिकेट स्टडियमको पूर्वाधारको काम पनि उनले गरिरहेका छन् ।

पाँच मन्त्रालयको जिम्मा महिलालाई

काठमाडौं । शुक्रबार बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले पाँच मन्त्रालयको जिम्मा महिलालाई दिएको छ । १६ वटा मन्त्रालय रहेको यो सरकारले पाँच मन्त्रालयको नेतृत्व महिलालाई सुम्पिएको हो ।  जसमा सोविता गौतम कानुनमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री, सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसख्या मन्त्री र गीता चौधरी कृषि तथा पशुपन्छि मन्त्री बनेका छन् । मन्त्री बनेकाहरूमध्ये सोबिता गौतमबाहेक अन्य सबै मन्त्री समानुपातिक सांसद हुन् ।  कानुनमन्त्री बनेकी सोविता गौतम चितवन क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद हुन् । गौतम पूर्व तिवन महानगरका मेयर तथा नेकपाका नेता रेणु दाहाललाई पराजित गर्दै विजयी भएकी हुन् । यसअघि २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् ।  संघीय मामिला तथा सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी प्रतिभा रावल समानुपातिक सांसद हुन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा लागेकी थिइन् । यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालेकी सीता वादी पनि समानुपातिक सांसद हुन् । सुर्खेतको महेन्द्रनगरकी उनी वादी समुदायबाट नेतृत्व गर्दै पहिलो पटक मन्त्री बनेकी हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मा पाएकी निशा मेहता पनि समानुपातिक सांसद हुन् । उनलाई मधेशी क्लष्टरबाट समानुपातिक सांसदमा छनोट गरिएको हो । पेशाले नर्स रहेकी निशा स्वास्थ्यमन्त्री बनेकी हुन् । कृषि तथा पशुपंक्षीमन्त्रीको नेतृत्व सम्हालेकी गीता चौधरी पनि रास्वपाबाट समानुपातिक सांसदमा निवार्चित हुन् । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ४ ३३ वर्षीया गीता चौधरी अधिवक्ता हुन् । प्रायः अदालतको बहस र सामाजिक न्यायका लागि सडकमा भेटिने उनी अहिले मन्त्रालयको नेतृत्वमा पुगेकी हुन् ।

अर्थतन्त्रको बागडोर सम्हाल्न डा. स्वर्णिम वाग्ले बने अर्थमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित वाग्ले मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनेछन् ।  सार्वजनिक नीति र अर्थतन्त्रका क्षेत्रमा लामो समयदेखि परिचित वाग्ले २०८० वैशाखमा सम्पन्न तनहुँ-१ को उपनिर्वाचनबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका हुन् । अर्थशास्त्री, नीतिगत विज्ञ तथा योजनाविद्का रूपमा पहिचान बनाएका वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अर्थमन्त्री बनेका हुन् । गोरखा जिल्लामा जन्मिएका उनी सामान्य परिवारमा हुर्किएका हुन् । प्रारम्भिक शिक्षादेखि नै अध्ययनमा रुचि राख्ने वाग्ले उच्च शिक्षाका लागि विदेश गएका थिए ।  अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) हासिल गरेका उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका क्षेत्रमा विशेष अध्ययन तथा अनुसन्धान गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् ।  उच्च शिक्षापछि वाग्लेले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विभिन्न कार्यक्रमहरूमा कार्य गर्दै विकास, गरिबी न्यूनीकरण तथा आर्थिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका थिए । सन् २०१४ मा नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा पछि उपाध्यक्षका रूपमा कार्य गर्दै दीर्घकालीन विकास योजना, आर्थिक सुधार र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका थिए । एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएका वाग्ले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को एसिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत कार्यरत थिए । लामो समयसम्म नेपाली कांग्रेससँग निकट रहेका वाग्ले २०७९ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । नीतिगत क्षेत्रमा लामो अनुभवपछि उनले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी रास्वपाका उपसभापति समेत हुन् । डा. वाग्ले ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले सरकारको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।