टेकु अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी अस्पतालको प्रमुख कन्सल्टेण्ट रहेका थिए । हाल अस्पतालको निर्देशकको कार्यभार सम्हाल्दै आएका डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो । संक्रमण रोग विशेषज्ञ समेत रहेका डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।

एभरेष्ट इन्स्योरेन्सका सीईओ गौतमले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ गौतमको पहिलो कार्यकाल आगामी असार १६ गते सकिँदै थियो । तर बीमा समितिले असार १० गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गौतमको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । गाैतमले २०७४ असारदेखि नै कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हाल्दै आएका छन् । चार वर्ष अवधिकाे पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै थप चार वर्ष काम गर्ने अवसर जुटेको हुन सक्ने सीईओ गौतमकाे दावी छ । ‘बैंकिङ्ग क्षेत्रबाट आएको म, नयाँ क्षेत्रमा जे जति गर्न सकेँ त्यो गरेँ, व्यवस्थापकीय चुनौतिलाई पार गर्दै संस्थालाई एउटा ठाउँमा पुर्याएँ, त्यसको लागि म सन्तुष्ट छु, त्यसैले पनि मलाई दोश्रो कार्यकालको लागि काम गर्ने अवसर आयो होला,’ उनले पहिलो कार्यकालको अनुभव बताउँदै भने । पुनः नियुक्ति पाएसँगै गौतमले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । ‘पहिलो कार्यकाल जस्तै अबको कार्यकालमा पनि नियम कानुन संगत ढंगले संस्थाको कर्पोरेट भिजन र स्ट्रयाटेजीलाई अगाडि बढाउने हो, कम्पनी बीमित लगायत समग्र बीमा क्षेत्रको हितमा काम गर्ने हो, संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने, नाफा बढाउने, संस्थालाई सबल बनाउने, ब्राण्ड इमेजलाई बढाउने त छँदै छ, यसलाई सँगै निरन्तरता नै दिँइरहने हो । समय परिवर्तनशील छ, अविरल यात्रामा अगाडि बढिरहेका छौं, सायद अबको ४ वर्षमा संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ होला, त्यहि अनुसार अगाडि बढ्ने छौं,’ उनले विकासन्युजसँग भने । पाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसीसी बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकीय क्षमतामा अव्वल मानिन्छन् । इन्स्याेरेन्समा नियुक्त हुनुअघि नै करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक, संस्थानलाई थप प्रतिस्पर्धी बनाउने प्रतिवद्धता

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकाे प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो । गत जेठ ६ गते नै पहिलो कार्यकाल सकेर संस्थानबाट बिदा भएका पाठकलाई सरकारले ढिलै भएपनि पुनः नियुक्ति दिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा पुनर्नियुक्ति दिएको हो । बिचमा बजेटले गर्दा निर्णय गर्न ढिलो भएको हो । यसअघि ३ वर्षे कार्यकाल बिताएका पाठकले पुनः थप ३ वर्षसम्म संस्थानको प्रशासकको जिम्मेवारी सम्हाल्ने छन् । उनले आज(असार ९ गते) देखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म बीमा संस्थानमा प्रशासकको पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् । पुननियुक्ति पाएका पाठकले आफ्नो पुरानो कार्यकाल राम्रैसँग बितेको र अबको कार्यक्राल थप राम्रो हुने बताएका छन् । साथै, बाँकी रहेका कामहरु यथाशिघ्र छिटो सम्पन्न गर्नु नै मूख्य योजना रहेको र त्यसपछि व्यापार व्यवसाय बढाउने तिर लाग्ने प्रशासक पाठकले बताए । ‘पुरानोको कार्यकाल राम्रै भयो, केही केही काम सक्नलाई बाँकी रहेका थिए, आन्तरिक रुपमा लेखापरिक्षणको काम सकेपनि फाइनल हुन सकेको थिएन, अब त्यहि सक्ने नै मूख्य प्राथमिकतामा रहेको छ, त्यसपछि व्यापार व्यवसाय बढाउने त छँदै छ’, उनले विकासन्युजसँग भने । पाठकका अनुसार आर्थिक वर्षको २०६८/६९ सालसम्मको लेखापरिक्षण स्वीकृति भएसकेको छ भने २०६९/७० सालदेखिका लेखापरिक्षणका कामहरु बाँकी रहेका छन् । अब ती कामहरु छिटै सकेर व्यवसाय विस्तारमा जोड दिँदै संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धता जनाएका छन् ।