एनआईसी एशियाको स्वतन्त्र संचालकमा स्वार नियुक्त, बैंकिङ्ग क्षेत्रमा ३० वर्ष बढी अनुभव

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्त्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् । यससँगै नवनियुक्त सञ्चालक स्वारले नियुक्त भएको दिनदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन् । स्वारले नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढि अवधीको कार्यअनुभव संगालेकी छिन् । फलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा शुरु गरेकी हुन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश पाएकी हुन् ।

मन्त्रिपरिषद निर्णयः पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे, वायुसेवा निगममा अधिकारी

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको संचालक समिति अध्यक्षमा बीमा विज्ञ रविन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताए । उनले भने, ‘निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उनीहरुलाई सम्बोधन गर्नेछु ।’ अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्षाको सुनिश्चितता हुने गरी आफूले काम गर्ने विश्वास व्यक्त गरे । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका विभिन्न कर्मचारी ट्रेड युनियनले १०४ दिन लामो आन्दोलन गरेका थिए । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै कर्मचारीले निरन्तर आन्दोलन गर्दा निगमका महत्वपूर्ण काम कारबाही प्रभावित भएको थियो । गत असोज २२ गते नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका कर्मचारी ट्रेड युनियनलाई मन्त्रालयमा बोलाएर छलफल गरी आन्दोलन स्थगित गराएका थिए । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ । निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको थियो । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि अघि बढ्न सकेको थिएन । ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडिएसम्बन्धी काम पनि प्रभावित भएको थियो । निगम यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाहीहरू प्रभावित हुन पुगेको निगमले जनाएको थियो । निकै कठिन परिस्थितिमा निगमले नेतृत्व पाएसँगै निगमका आगामी काम कारबाही प्रभावकारी ढङ्गले अघि बढ्ने निगमभित्रका कर्मचारीको विश्वास छ । निगमकका एक उच्च अधिकारीले निगमभित्र लामो समयदेखिको अन्योलपूर्ण अवस्थाको अन्त्य भई नीतिगत योजनाका साथ प्रभावकारी काम हुने बताए । यसअघि निगमको अर्थ विभागको निर्देशक पदको जिम्मेवारी सम्हालिसकेका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए । निगममा ३४ वर्ष दुई महिना दुई दिन सेवा गरेर अधिकारी गत वर्ष सेवा निवृत्त भएका थिए । लोकसेवामार्फत चौथो तहदेखि सेवा प्रवेश गरेका अधिकारीले निगमभित्रका विभिन्न चारवटा विभागको निर्देशकका रुपमा काम गरिसकेका थिए । रासस

नेपाल इन्स्योरेन्समा बीके महर्जन प्रवेश, ६ महिनापछि सीईओ बन्दै

काठमाडौं । ६ महिनापछि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उक्त संस्थामा उनले तीन कार्यकाल विताएका थिए । बीमकको संस्थागत सुशासन अनुसार थप कार्यकालको लागि प्रुडेन्सियलमा सीईओ बन्न नमिल्ने भएपछि यहि असोजमा उनी बाहिरीएका थिए । उनी लो प्रोफाइलमा बसेर प्रोफेशनल रुपमा कम्पनी चलाउने सीईओको रुपमा परिचित छन् । संस्थागत सुशासनले कुनै पनि कम्पनीको सीईओले छोडेको ६ महिनासम्म अर्को कम्पनीको सीईओ बन्न रोक लगाएकोले उनी नेपाल इन्स्योरेन्स कम्पनीका कामु सीईओको भूमिकामा प्रवेश गरेको जानकारहरुले बताएका छन् । कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । साथै उनलाई कामु सीईओको जिम्मेवारी पनि तोकिएको नेपाल इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् । वरिष्ठ डीसीईओ महर्जनले कात्तिक ७ गतेदेखि नै कार्यभार सम्हालेका छन् । उनलाई कम्पनीले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । ६ महिनापछि उनी सीईओमा नियुक्त हुने सम्बद्ध स्रोतले जानकारी दिए । कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अवकास पाएपछि सो कम्पनीको कामु सीईओको भूमिकामा डेपुटी सीईओ ईश्वर पोखरेल कार्यरत थिए ।