प्रस्तावित राजदुतहरुमा लीलामणि सर्वसम्वत, दिपकुमारलाई बहुमतबाट अनुमाेदित

काठमाडौं, १६ असोज । भारत र चीनका लागि प्रस्तावित राजदुतहरुलाई संसदिय समितिले अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित राजदुत लिलामणि पौडेलको नाम अनुमोदन गरेको हो । लिलामणि पौडेलको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ भने दिपकुमार उपाध्यायको विपक्षमा एमाले र राप्रपा नेपालले मतदान गरेका थिए । यद्यपी उपाध्यायको नाम पनि बहुमतले अनुमोदन भएको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले दिएको जानकारी अनुसार आइतबारको बैठकमा समितिका समितिका सदस्य समेत रहेको मन्त्री बालकृष्ण खाँण र प्रकाश शरण महत पनि सहभागी भएका थिए । केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेको आरोप लगाउँदै अघिल्लो सरकारले भारतका लागि तत्कालिन नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर प्रचण्ड नेतृत्वको सरकारले पुनः उपाध्यायलाई नै भारतका लागि नेपाली राजदुत सिफारिस गरेको थियो ।

ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पर्वतकुमार कार्की नियुक्त

काठमाडौं, १३ असोज । नेपाल ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पर्वतकुमार कार्की नियुक्त भएका छन् । असोज ९ गते बसेको ६७ औँ बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले आगामी ४ वर्ष सम्म ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।  

नेपालमा विदेशी महिला राजदूत, काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ जना

काठमाडौं १२, असोज । चीनले पनि नेपालमा महिलालाई राजदूतका रुपमा पठाउने भएपछि काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेपालका लागि विश्व शक्तिराष्ट्र अमेरिकाकी राजदूतको रुपमा अलैना वि टेप्लिज छन् । सायद यही दृष्टान्त हेरेर होला शक्ति राष्ट्र बन्ने बाटोमा अग्रसर चीनले पनि महिलालाई नै राजदूत नियुक्ति गर्ने तयारी गरेको छ । नेपालका लागि चीनको २० औं राजदूतको रुपमा यु होङ नेपाल आउने भएकी छन् । सरकारले उनको नाममा सहमति दिएलगत्तै उनी मंसिरमा नेपाल आउनेछिन् । चीनले नेपालमा पहिलो पटक महिला कूटनीतिज्ञ पठाउन लागेको हो । इन्डोनेसियाको सुरायावमा महाबाणिज्य दूत रहेकी ५१ बर्षिय प्रस्तावित चिनियाँ राजदूत यु एसिया मामिला विज्ञ हुन् । अमेरिकाबाहेक अहिले नेपालमा युरोपियन युनियन ९ईयू० को राजदूत र राष्ट्रसंघको आवासीय प्रतिनिधि पनि महिला नै छन् । सार्क मुलुकहरु श्रीलंका र बंगलादेश तथा आर्थिक शक्तिका रुपमा उदाइरहेको ब्राजिलकी राजदूत पनि महिला नै छन् । अमेरिकाबाट अलैना, श्रीलंकाबाट डब्लु स्र्वनलथा परेरा, इयूबाट रिन्छे टेरेन्क, बंगलादेशबाट मस्फि विन्टु साम, ब्राजिलबाट मारिया मेस्क्वेटा पेसोअ र राष्ट्रसंघकी आवासीय प्रतिनिधीमा भ्यालेराइन जुलियान्ड छन् । डेनमार्कको नियोग प्रमुख पनि महिला नै छन् । डेनमार्कले यसै बर्षदेखि राजदूत स्तरबाट घटाएर सार्जे स्तर बनाएको हो । सन् २०१७ मा डेनमार्कले नेपालमा दुतावास नै बन्द गर्ने जानकारी सरकारलाई गराईसकेको छ । उपप्रमुखको रुपमा इन्ग्रीड दहल–माड्सनले दूतावासको नेतृत्व सम्हालेकी छन् । फिनल्याण्ड, डेनमार्क, जर्मनी, थाइल्याण्ड र श्रीलंकाले यसअघि पनि महिला राजदूत पठाएका थिए । सन् १९६६ मा अमेरिकी राजदुतका रुपमा नेपाल आएकी क्यारोल सि लेस नेपाल आउने पहिलो महिला राजदुत हुन् । उनी सात बर्षसम्म नेपालमा अमेरिकी राजदूतको रुपमा रहेकी थिइन् । उनले नेपालमा नै विवाहसमेत गरेकी थिइन् । समाचार स्रोतः कान्तिपुर दैनिकबाट