गण्डकी विकास बैंकको सीईओमा शर्मा नियुक्त, पुँजी वृद्धि पहिलो प्राथमिकता
काठमाडौं, १ भदौ । गण्डकी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा छविन्द्रनाथ शर्मा नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । विगत १४ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत शर्मा २०६५ सालदेखि गण्डकी विकास बैंकमा कार्यरत छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । पोखरामा केन्द्रीय कार्यलय रहेको यो बैंक १० जिल्ला कार्यक्षेत्र भएको बैंकको हो । यो बैंकले गत असार मसान्तसम्ममा ५ अर्ब ५५ करोड निक्षेप र ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष बैंकले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १० जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ हुनु पर्ने भएकोले बैंकको अहिलेको प्राथमिकता पुँजी वृद्धि भएको शर्माले बताए । हाल यस बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । ‘समय धेरै छैन, मर्ज गरेर पुँजी वृद्धि गर्ने विकल्पमा छलफल चलाईरहेका छौं’ शर्माले विकासन्युजसँग भने ।
एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ चयन
काठमाडौं, २६ साउन । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले बैंक अफ काठमाण्डौ लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा चयन गरेको हो । साथै, ईन्ष्टिच्युटको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालकको पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उक्त बैठकले सञ्चालक समितिका निवर्तमान अध्यक्ष शोभनदेव पन्त र निवर्तमान सञ्चालक डा. बिनोद आत्रेयलाई संस्थाप्रति उनीहरुको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको लागि बदलिँदो परिवेश अनुरुपको समय सापेक्ष कार्यक्रमहरु आयोजना गर्दै संस्थाले लिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
योजना आयोगवाट खतिवडाले राजिनामा दिने, उपाध्यक्ष बन्न फत्तवहादुर दौडधुपमा
काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष डा. युवराज खतिवडाले राजिनामा दिने भएका छन् । आयोगमा अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने ब्यवस्था छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भइसकेकोले उनी राजिनामा गर्ने अवस्थामा पुगेका हुन् । आयोग अध्यक्ष तथा प्रधानमन्त्री परिवर्तन हुने वित्तीकै उपाध्यक्षसहित आयोगका सदस्यले राजीनामा गर्ने चलन छ । नयाँ प्रधानमन्त्रीले आयोगका पूर्वबर्ती सरकारले नियुक्त गरेका उपाध्यक्षसहित सदस्यहरुलाई पदमुक्त गर्ने सम्भावना हुनाले सरकार परिवर्तनसँग आयोग पदाधिकारीले राजीनामा गर्ने गरेका हुन् । उपाध्यक्ष खतिवडा सहितका पदाधिकारीले आइवार प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर राजिनामा बुझाउने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । दाहाल नेतृत्व सरकारले आफ्नो कानुनी सल्लाहकार अर्थात महान्यायधिवक्तामा रमण श्रेष्ठलाई नियुक्त गरिसकेको छ । अब आयोगको उपाध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि चलेको छ । आयोग उपाध्यक्षको लागि बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी दौडधुपमा लागेको स्रोतले जानकारी दिएको छ । यसको लागि केसीले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर आफूलाई नियुक्त गर्न अनुरोध गरेका बताइएको छ ।