नेप्सेको स्वतन्त्र सञ्चालकमा महर्जन नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । नेपाल सरकार तथा अर्थ मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट महर्जनलाई नेप्सेको उक्त पदमा नियुक्त गरिएको हो । नेप्सेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले नवनियुक्त सञ्चालक महर्जनलाई माघ २९ गते पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नियुक्त भएसँगै महर्जनले आगामी चार वर्षसम्म नेप्सेमा स्वतन्त्र सञ्चालकको पदको जिम्मेवार सम्हाल्ने छन् ।
हिमालयन बैंकको अध्यक्षमा गौतम
काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हाे । बैंकलाई प्रतिस्पर्धी बनाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष गौतमले बताए । ‘बैंकलाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो, ठूलो बैंक बनाउने भन्दा पनि प्रतिस्पर्धी र अब्बल बैंक बनाउन सक्दो प्रयास गर्छु’, अध्यक्ष गौतमले विकासन्युजसँग भने । बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणकाे सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ । बैंकले प्रमोटर सेयर साधारणमा परिणत गरेर साधारण सेयरको हिस्सा बढाउने रणनीति लिएको छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो । उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भने । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने । प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए । हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयेग गर्ने विश्वास व्यक्त गरे । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कामय गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’ अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौतीः नवनियुक्त महानिरीक्षक ज्ञवाली उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन् । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो । संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख प्रहरी महानिरीक्षकक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए । उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए । आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।रासस