वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो । व्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गरेका भरत सिंह थापा शिक्षण पेशामा विगत १४ वर्षदेखि निरन्तर कार्यरत रहेका छन् ।

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले भोलि (भदौ १ गते) देखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भोलिदेखि पदबहाल गरी आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् । उनलाई गत साउन ३० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा सेवा गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जर पछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको रुपमा नेतृत्व गरिसकेका छन् । २०७६ मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । सम्बन्धित समाचारः ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव  

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक संचालक समिति स्रोतले जानकारी दियो । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकाकाे देखि वित्तीय क्षेत्र सुधारकाे क्रममा नेपाल बैंकमा व्यवस्थापन विदेशीले संहाल्दा उच्च तहमा सँगै काम गरेको अनुभव पनि हासिल गरेका छन् । उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलाे पटक प्रमुख कार्यकारी अधिकृत भएका थिए । एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । बज्राचार्य अहिलेसम्म जुन बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन्, ती बैंकमा एक कार्यकाल पूरा गरेका छन् । र, उनले कार्यकाल दोहोर्याएका छैनन् । करिब १ वर्षअघि तत्कालिन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक  ग्लोबल आइएमई बैंकमा मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए । अहिले पनि ग्लाेबल आइएमई बैंकमा पाेष्ट मर्जर व्यवस्थापनदेखि व्यवसाय विस्तारसम्मका चुनाैति सामना गर्न बैंकले उनलाई जिम्मेवारी दिएकाे हाे । खह्राे स्वभावका बज्राचार्य नतिजामुखी बैंकर्सकाे रूपमा परिचित छन् ।