सानिमा लाइफको सीईओमा मुखिया, तीन विश्वविद्यालयबाट मास्टर्स, नयाँ प्रडक्टमा विशेष दख्खल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । मुखियालाई बीमा समितिले शुक्रबार नियुक्तीका लागि स्विकृति दिएको हो । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नको लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था छ । मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पदमा उनले ४ वर्षका लागि नियुक्ती पाएका हुन् । सानिमा लाइफमा सीईओ पद खाली थियो । कम्पनी २०७४ सालमा संचालनमा आएको भएपनि महाप्रबन्धकको रुपमा शिवराम तिमिल्सिनाले व्यवस्थापनको नेतृत्व गरिरहेका थिए । मुखियाले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय गरी ३ विश्वविद्यालयबाट स्नातकोत्तर तह (मास्टर्स डिग्री) गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्टमा र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा मास्टर्स गरेका हुन् । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष काम गरेका मुखिया सो कम्पनीको एसिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारीमै रहेकै बेला रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा गएका थिए । बीमा क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव भएका मुखिया बीमा बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउनेमा खास दख्खद राख्ने व्यक्तिका रुपमा परिचित छन् । उनले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) मा प्रोजेक्ट कन्सल्ट्यान्टको रुपमा पनि काम गरेको अनुभव संगालेका छन् ।

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार

काठमाडौं । रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार नियुक्त भएका छन् । फाइनान्सको आज (असोज ५ गते) दिनको ३ बजेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक तण्डुकारले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

प्रतिस्पर्धी कम्पनीलाई टक्कर दिन शिवम् शिमेन्टले भित्र्यायाे विदेशी सीईओ, टाटा र विर्ला ग्रुपमा काम गरेकाे अनुभव

काठमाडौं । शिवम् शिमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । उनी भारतीय नागरिक हुन् । कम्पनीले श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको स्वीकृति लिएर उनलाई नियुक्त गरिएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृतको दरखास्त माग गर्दै पत्रपत्रिकामा सूचना प्रकाशित गरेको तर कम्पनीले चाहे जस्ताे व्यक्तिबाट आवदेन नपरेपछि विदेशी नागरिकलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताए । सिमेन्ट उद्योगमा तीन दशक लामो काम गरेको, कम्पनीको वित्त व्यवस्थापन, गुणस्तर र प्रविधि सबै पक्षमा राम्रो ज्ञान र अनुभव भएका व्यक्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको उनले विकासन्युजसँग बताए । ‘उहाँको नेतृत्वमा कम्पनीको व्यवसाय हिजो भन्दा राम्रो हुनेछ । कम्पनीले पहिला भन्दा बढी नाफा गर्नेछ । कम्पनीको ब्राण्ड इमेज माथि जानेछ’  उनीबाट कम्पनीले गरेको अपेक्षाबारे गोयलले बताए । शिमेन्ट बजारमा चर्को प्रतिस्पर्धा रहेको र कोभिड महामारी पछिको चुनौति पार लगाउँदै कम्पनीलाई अगाडि बढाउन अनुभवी व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको गोयलको भनाई छ । नयाँ सीईओ विजनेश एडमिनिस्ट्रेशन र टोटल क्वालिटी म्यानेजमेन्ट विषयमा मास्टर डिग्री गरेका छन् भने साइन्स र टेक्नोलोजि विषयमा डिप्लोमा गरेका छन् । उनी सन् २०१७ पछि जिंदल पैंन्थर सिमेन्टको प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि  उनी टाटा कन्सल्टिङ इन्जिनियर्स कम्पनीमा सिनियर जनरल म्यानेजरको रुपमा ११ वर्ष काम गरेका थिए । त्यस्तै उनले भारत कै इरकम कन्सल्टिङ इन्जियर प्रालिमा दुई वर्ष जनरल म्यानेजर थिए भने त्यसअघि विर्ला कर्पोरेशनमा २१ वर्ष काम गरेका थिए । शिवम् सिमेन्ट कम्पनी नेपाली बजारमा नेतृत्वदायी कम्पनी भएको र यस कम्पनीप्रति सर्वसाधारण लगानीकर्ताको पनि अपेक्षा धेरै भएकोले लगानीकर्तालाई आकर्षक प्रतिफल दिन चाहेको अध्यक्ष गाेयलले बताए । ४ अर्ब ४० करोड चुक्ता पुँजी भएको यस कम्पनीले गत वर्ष सर्वसाधारणमा सेयर निष्काशन गरेको थियो । यसको सेयर मूल्य प्रतिकित्ता ७३८ रुपैयाँमा कारोबार भएको छ ।