माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले आगामी ४ (चार) वर्षसम्म बैंकको कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्ने छन् । विगत ७ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका कोइराला हाल यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनीसँग समग्र बैकिङ क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्ताको जिम्मेवारी डीसीईओ प्रसाईंले सम्हाल्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो । डीसीईओ प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको चुक्तापुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ।
कम्पनी रजिष्ट्रार कार्यालयले २ महिनापछि पायो नेतृत्व
काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् । आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी आउने भएका छन् । उनले शुक्रबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र बुझिसकेका छन् । निमित्त रजिष्टार अजुनप्रसाद खनाल पनि विद्युत नियमन आयोगमा सरुवा भएर गएका थिए । उनी सरुवा भए पछि १५ दिन कम्पनी रजिष्ट्रार कार्यालय प्रमुखबिना नै सञ्चालन भयो । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब २ महिनादेखि प्रमुख विहीन थियो । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा सरुवा भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रारको काम गरिरहेका थिए । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्ने गरेका छन । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिने भन्दै ५ हजार रुपैयाँ घूस लिने क्रममा लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थीलाई पक्राउ गर्यो । अख्तियारले सहायक रजिष्ट्रार सीताराम खड्का र अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई पनि आर्थिक चलखेल गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।