लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण  लिएका छन् । नेपाल २०७५ फागुनदेखि  साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । नागरिक लगानी काेष लक्ष्मी बैंककाे प्रवर्धक सेयरधनी हाे । काेषकाे लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेकाे छ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।

हङकङ र ल्हासाका लागि उदय रानामगर र नवराज ढकाल महावाणिज्यदूत नियुक्त

काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए। उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेट जिल्ला बेलकाेगढी नगरपालिकाका स्थायीबासी हुन् ।  

नेपाल इन्स्याेरेन्समा ईश्वर पाेखरेल नियुक्त, नेपाल बैंककाे अडानपछि मर्ज प्रकिया राेकियाे

काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलाे बैंकहरूमा काम गरेकाे अनुभव छ  । त्यसैगरी इन्स्याेरेन्सकाे नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीकाे लागि खुला प्रतिस्प्रर्धा गरेकाे हाे । नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्चरकाे प्रकिया राेकिएपछि नेपाल इन्स्याेरेन्स कम्पनी आक्रामक रूपमा अगाडि बढ्ने याेजना बनाएकाे छ । नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्जबारे प्रवर्द्धकबीच छलफल भएकाे तर नेपाल इन्स्याेरेन्सकाे संस्थापक प्रवर्द्धक नेपाल बैंकले नेपालकाे पहिलाे बीमा कम्पनी भएकाेले याे कम्पनीकाे नाम छाेडेर मर्ज हुन तयार नभएकाे अडान लिएपछि मर्जकाे विषयमा छलफल पनि हुन छाेडेकाे स्राेतले बतायाे । पहिला ४० प्रतिशत सेयर नेपाल बैंककाे भएपनि अहिले १५ प्रतिशत छ । यस कम्पनीकाे मुख्य प्रवर्द्धक आईएमई ग्रुप हाे । यसअघि दुबै कम्पनीले साधारणसभाबाट मर्जमा जाने निर्णय गर्नुकाे साथै मर्जर कमिटि बनाएर छलफल अगाडि बढाएकाे थिए । दुबै कम्पनीकाे विजेनश, नेटवर्थ, पुँजी, बजारमा सेयर मूल्य उस्तै भएकाेले स्वाप रेसियाेमा पनि प्रवर्द्धकबीच माेटामाेटी सहमति भएकाे तर नामकाे विषयमा कुरा नमिलेकाे स्राेतकाे भनाइ छ ।