सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्छ : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन्। सभापति लामिछानेले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’ सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे । उनले भने, ‘सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौं । मैले अघि पनि भनेँ, यो यात्रामा कहिलेकाहीँ टब्र्युलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौं ।’ सभापति लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको पनि स्वीकार गरे । उनले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए । उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठग्ने काभ्रेका दुलाल पक्राउ
काठमाडौं । क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् । वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई साउन २४ गते गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभनमा पारी एक व्यक्तिबाट ३७ लाख रुपैयाँ ठगेको अभियोग छ । पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले बताए । बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन, कांग्रेसको आन्तरिक एकता तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश लगायत विषयमा छलफल हुन लागेको हो । संस्थापन इतर समूहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। बैठक छिटोमा दुई दिनसम्म चल्ने र आवश्यक भए लम्बिन सक्ने प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीभित्रको विवाद चर्किँदै गएपछि संस्थापन इतर समूहले नेतृत्वमाथि एकता कायम गर्न ठोस पहल नगरेको आरोप लगाउँदै छुट्टै राजनीतिक बाटो रोज्ने बताउँदै आएको छ । तर, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरेपछि इतर समूह तत्कालका लागि केही पछि हटेको देखिए पनि कांग्रेस विभाजनको तरबार पुर्णरूपमा हटेको छैन । सर्वोच्चको पछिल्लो आदेशपछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । इतर समूहले भने राष्ट्रिय भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी गरिरहेको नेता जितजंग बस्नेतले जानकारी दिए।