काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
शुक्रबारदेखि हराइरहेका मेयर सिंह आइतबार (आज) गोरुसिंगेको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
शुक्रबार दिउँसो २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका सिंहले साढे तीन बजेतिर .‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत आफन्तीलाई जानकारी दिएको प्रवक्ता सिंहले बताए ।
सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको थियो । साथै ड्रोनबाट समेत निगरानी गरेको थियो ।
पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको प्रवक्ताले जानकारी दिए ।
सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।