कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त
काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रमुख प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि निवर्तमान प्रमुख प्रशासक जितेन्द्र धिताललाई पदमुक्त गरिएपछि खाली रहेको उक्त पदका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले जीवन कटुवाल, विजय श्रेष्ठ र भरतराज बस्तीको नाम मन्त्रिपरिषद्मा पेस गरेकोमा सरकारले श्रेष्ठलाई चयन गरेको हो । नवनियुक्त प्रमुख प्रशासक श्रेष्ठले अब कोषको नेतृत्व सम्हाल्नेछन् भने उनको आगमनसँगै कोषको प्रशासनिक तथा वित्तीय व्यवस्थापन थप प्रभावकारी र सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यहरूको कार्यकाल अब ३ वर्ष कायम गरिने भएको छ ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथि भएको दफावार छलफलका क्रममा उक्त पदावधि ३ वर्ष बनाउने सहमति जुटेको हो । संसदीय अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार हाल गभर्नर र सञ्चालकहरूको कार्यकाल ५ वर्षको रहँदै आएकोमा नयाँ बन्ने ऐनमा त्यसलाई घटाएर ३ वर्षमा सीमित गर्ने निर्णय गरिएको छ । यसैगरी, डेपुटी गभर्नर र सञ्चालकहरूको प्रारम्भिक पदावधि ३ वर्षको हुनेछ भने उनीहरूको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक देखिएमा नेपाल सरकारले २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकमा राख्ने सहमति भएको छ । यस ऐन संशोधन विधेयकमाथिको दफावार छलफललाई समितिले निरन्तरता दिने भएको छ ।
नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग सम्बन्धित विषयमा आपत्तिजनक सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गतिविधिमा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाँउपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटवाललाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले कटवाललाई भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । साइबर ब्युरोका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।