म्यानपावर व्यवसायीलाई सरकारको चेतावनी, नवीकरण नभए खारेज गर्ने

काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्था दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण नगर्ने संस्थाहरूलाई समयमै प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो ।  विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्था, अनुमति प्राप्त संस्था, शाखा कार्यालय, अभिमुखीकरण तालिम प्रदायक संस्था, केयर गिभर तथा घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम दिने संस्था तथा कुनै विशेष देशका लागि सूचीकृत संस्थाहरूले तोकिएको अवधिभित्र अनिवार्य रूपमा इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण गर्नुपर्नेछ ।  वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेकाले त्यसको पालना गर्न विभागले निर्देशन दिएको हो ।  विभागका अनुसार तोकिएको समयभित्र नवीकरण नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागले यसपटक नवीकरण गर्दा आधारभूत कागजातका अतिरिक्त गुगल प्लस कोडसहितको अद्यावधिक गुगल म्याप, संस्थाका सबै सेयरधनी, सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण र सम्पर्क नम्बरसमेत निवेदनसँगै पेश गर्नुपर्ने व्यवस्था गरेकोछ ।

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : पर्यटनमन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित ‘विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावतः आध्यात्मिक भूमि भएकाले यहाँका हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । ‘पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,’ उनले भने, ‘नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ।’ नेपाल पर्यटन बोर्ड, स्पा सङ्घ नेपाल तथा अन्य विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा आरोग्य पर्यटनको बढ्दो विश्वव्यापी सम्भावना, स्पा तथा प्राकृतिक उपचार पद्धतिको महत्त्व र यस क्षेत्रको व्यावसायिक विकासका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए । उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको बताए । ‘विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ,’ उनले भने, ‘नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।’ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीका कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए । उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता भएको उल्लेख गरे । स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले ‘विश्व आरोग्य दिवस’ सम्बन्धी प्रस्तुतीकरण गर्दै आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । उनले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गरे । अन्तर्राष्ट्रिय आरोग्य विज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको टिप्पणी गर्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताए । ‘कसैले आरोग्य भनेको के हो भनेर सोध्यो भने मेरो उत्तर हुन्छ-नेपाल नै आरोग्य हो,’ उनले भने । नेपालमा उपलब्ध प्राकृतिक र आध्यात्मिक सम्पदालाई आर्थिक अवसरसँग जोडेर विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न उनले आग्रह गरे । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा योगाचार्य प्रकाशद्वारा योग अभ्यास सत्र सञ्चालन गरिएको थियो । साथै ध्वनि उपचार सत्र तथा तनाव व्यवस्थापनसम्बन्धी सेल्फ–मसाजको डेमो प्रदर्शन गरिएको थियो । आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले जानकारी दिए । 

धारा, ढल, बिजुली, टेलिफोनका लागि सडक खन्न पूर्ण प्रतिबन्ध

काठमाडौं । वर्षायाममा सडक खन्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको हो ।  कार्यालयका अनुसार धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भएकाले वर्षायाममा यस्तो कार्यमा रोक लगाइएको हो । असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालय मातहतका सडक डिभिजन क्षेत्रभित्र कुनै पनि सडक खन्न स्वीकृति नदिने कार्यालयले जनाएको छ ।  यदि अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।