पेटभित्र सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक पक्राउ
काठमाडौं। पेटभित्र लुकाएर ल्याएको सुनसहित बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । शुक्रबार नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्याप्सुल जस्तो देखिने ३५ वर्षीय मोहम्मदर रसिल हल्दार पक्राउ परेका हुन् । दुबईबाट काठमाडौं आएका विमानस्थलको भन्सार एरिया क्रस गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा करिब १५० ग्रामको सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार काठमाडौ मेडिकल कलेज, सिनामंगलमा प्लेभिक एरियाको एक्स रे जाँच गराउँदा शंकास्पद धातु पेट भित्र देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु ननिस्किएर पेटमा अड्किएर बसेको देखिएको थियो । स्वास्थ्यमा कुनै प्रतिकुलता नदेखिएको र आवश्यक कानूनी प्रक्रिया पुरा गरी ५ दिन उनलाई अस्पतालमा भर्ना गरी राखिएको छ । बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौचरमा बुझाइएको सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए।
रास्वपाले विस्तार गर्यो सचिवालय, १० जना थपिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो । बैठकले सचिवालयमा १० जना सदस्य थप गरेको छ । विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा रहेका छन् । पार्टीका संगठनात्मक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ । विस्तारित सचिवालयले पार्टीका दैनिक राजनीतिक, सांगठनिक तथा संसदीय गतिविधिमा समन्वय गर्नेछ ।
सम्बन्धविच्छेद प्रमाणपत्रका लागि १० हजार घुस लिएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा शाहविरुद्ध आरोपपत्र दायर गरिएको हो । अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले वडा सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै नियतवश ढिलासुस्ती गरेको आयोगको निष्कर्ष छ । दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेर लिएको आयोगले जनाएको छ । आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएको भन्दै बिगो १० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।