गलत डिजाइनका कारण बर्दियाको पुल भत्किएको निर्माण व्यवसायीको दाबी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ । महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले ‘वेल फाउन्डेसन’ बनाउनुपर्ने लिखित सुझाव दिएकामा सडक डिभिजन कार्यालय नेपालगन्जले नमानेको जानकारी गरायो । महासंघका कावा अध्यक्ष विष्णुभाई श्रेष्ठले ‘वेल फाउन्डेसन’ मा बनेका पुललगायत संरचनामा केही नभएको बताउँदै बर्दिया जबदीघाटको पुल ‘पाइल फाउन्डेसन’ मा बनाउने डिजाइन गरेकाले क्षतिग्रस्त बनेको सुनाए । कन्स्ट्रक्सनका प्रोपाइटर हरिनारायण रौनियारले पुलको संरचनामा केही नभई बाढीका कारण फाउन्डेसन भासिनुले निर्माणको गुणस्तरीयतमाथि प्रश्न गर्न नसकिने दाबी गरे । संरचनाबाट एउटै गिटी नखसेकाले गलत डिजाइनका कारण पुलमा समस्या आएको उनको भनाइ थियो । पन्ध्र महिनाअघि निर्माण सम्पन्न भएको पुलको मर्मत सम्भार गर्ने म्याद पनि विसं २०७४ असार २० गते सकियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुलको क्षतिको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेकाले दोषी ठहरे असल नागरिकका नाताले पुलको क्षतिपूर्ति तिर्ने प्रतिबद्धता उनले बताए । सो अवसरमा इन्जिनियर प्रा डा दीपक भट्टराई, महासंघका पूर्वअध्यक्षद्वय जयराम लामिछाने र यक्षध्वज कार्कीले ४२५ मिटरको नदीलाई १०० मिटरमा हिँडाउनु, निर्माण व्यवसायमा आइपर्ने समस्या समाधान नगरिनु नै पूर्वाधारमा क्षति हुने कारण बनेको बताए ।
रसुवागढी नाकाबाट सामान आउन थाले, एक दिन मै करिब साढे दुई करोड बराबरको राजश्व असुली
रसुवा। नेपाल–चीनबीचको रसुवागढी नाकाबाट नेपाल भित्रिएका मालसामानको भन्सार परीक्षण र राजश्व असुली कार्य शुरु भएको छ । प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार केही मालवस्तुमाथि लगाइएको परिमार्जित भन्सार शुल्कप्रति व्यवसायीले असन्तुष्टि जनाएका कारण केही समय भन्सार जाँचमा अलमल भएपनि मंगलबारदेखि व्यापारीले आयात गरेका आफ्ना मालवस्तुको घोषणा कार्य शुरु गरेका र एक दिन दुई करोड ४० लाख रुपैयाँ राजश्व असुली भएको छ । मूल्याँकन र वर्गीकरण जस्ता विषयमा भन्सार प्रशासनले कडाइ गरेपछि भन्सार परीक्षण सहज भएको हो । नेपालीहरुको महान् चाड बडा दशैँलाई ध्यानमा राखी व्यापारीले बढी मात्रामा यो नाकाबाट नास्पाती र स्याउ भित्र्याउन थालेको बताइएको छ । आज २० वटा कन्टेनरका सामानको भन्सार परीक्षण सम्पन्न भएको र भन्सार हाताभित्र प्रवेश गरिसकेका ४०० मालबाहक कन्टेनरका सामानको जाँच कार्य भइरहेको प्रमुख पनेरुले जानकारी दिए ।
प्रधानमन्त्री भ्रमणमा भाग लिन एफएनसिसिआई भारत प्रस्थान, भारतीय लगानी विस्तारका लागि पहल गरिने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आज भारत प्रस्थान गरेको छ । सो अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्ने महासंघले जनाएको छ । राजकीय भ्रमणमा सहभागी हुन महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डल भारत गएको हो ।प्रधानमन्त्रीका साथ भारत जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका व्यवसायीको सहभागीता छ। प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुको साथै महासंघ आफ्ना समकक्षी भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र एसोचेम लगायतका व्यसायिक संघ÷संस्थाहरूले संयुक्त रुपमा आयोजना गर्ने व्यवसायिक कार्यक्रममा सरिक हुनेछ । कार्यक्रमलाई महासंघका अध्यक्ष राणाबाट संवोधन गर्नेछन् । त्यसैगरी भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री निर्मला सितारमण, उर्जा मन्त्रालय, पर्यटन मन्त्रालय र भारतीय उद्योग परिसंघ अध्यक्ष सहित पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । महासंघको प्रतिनिधिमण्डलमा बैंकिङ, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, शिक्षा स्वास्थ्य, अटोमोवाइल, हस्तकला, उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व रहेको छ । महासंघको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।