मंगलबारे खानेपानी आयोजना सञ्चालनमा नआउँदा जीर्ण अवस्थामा
उर्लाबारी (मोरङ) । मोरङस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् । समितिको बेवास्ता र ढिलासुस्तीका कारण करोडौँ खर्च गरेर निर्माण गरिएका केही भौतिक पूर्वाधार जीर्ण बन्दै गएका छन् । ४० एमएमदेखि २०० एमएम सम्मका पाइप लामो समयदेखि अलपत्र अवस्थामा फ्याँकिएका छन् । तीमध्ये अधिकांश पाइप कामै नलाग्ने अवस्थामा पुगेका छन् । दुई लाख २५ हजार लिटर क्षमताको पानी ट्याङ्की जीर्ण बनेपछि बुटवलबाट कामदार बोलाएर मर्मत सम्भार गरिएको छ । समितिकै ढिलासुस्तीका कारण आयोजना निर्माण भइसक्दा पनि आफूहरुले पानी पिउन नपाएको उर्लाबारी–३ का पूर्ण श्रेष्ठले गुनासो गरे । उहाँले निर्माण भएको वर्षौंसम्म रेखदेख नपुग्दा पानीट्याङ्की कमजोर भइसकेको बताए । सो खानेपानी आयोजना आर्थिक बर्ष २०६१÷६२ मा स्वीकृत भएको थियो । उक्त वर्ष नै स्थानीयवासी शोभितबहादुर निरौलाको अध्यक्षतामा मंगलबारे सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भएको थियो । प्रारम्भिक चरणको काम गर्दागर्दै निरौला बिरामी परेपछि लामो समयसम्म समिति कार्यवाहक अध्यक्षको भरमा चल्यो । उर्लाबारी–३ का मुक्ति न्यौपानेले लामो समयसम्म कार्यवाहक चलाएपछि गत वर्ष भेला बोलाएर अहिले अध्यक्ष बनेका छन् । उनले अहिले बालुवा, गिट्टीको अभाव रहेकाले केही काम गर्न नपाउँदा पानी वितरणमा ढिलाइ भएको बताए । आयोजनाले १० किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको समितिका उपाध्यक्ष कमलनारायण मल्लिकले जानकारी दिए । साढे पाँच हजारका दरले करिब ३०० लाई सदस्यतासमेत वितरण गरिसकेको मल्लिकले बताए। उहाँले नयाँ आर्थिक वर्षदेखि केही बजेट प्राप्त भएपछि पानी वितरण गर्न थालिने बताए । नौ कट्ठा जमिनमा कम्पाउण्ड वाल, कार्यालय भवन, चौकीदार भवन, पम्पसेट गाड्ने, खानेपानीको ट्याङ्की निर्माण सबै काम ५ वर्षअघि नै सम्पन्न भएको हो । तर निर्माण भएका पूर्वाधारको रेखदेख र मर्मत सम्भार नहुँदा कम्पाउण्ड वाल, पानी ट्याङ्की लगायतका पूर्वाधार जीर्ण बनिसकेको छ । आयोजना निर्माणमा अहिलेसम्म रु तीन करोड ४९ लाखभन्दा बढी रकम खर्च भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । सो मंगलबारे खानेपानी आयोजना सञ्चालनमा आए नगरभित्रका तीन हजारभन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् । रासस
किष्ट बैंक ठगी गर्ने फरार बस्ताकोटी पक्राउ, चार वर्ष कैद, चार करोड जरिवाना
काठमाडौं । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालिका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले भक्तपुर, दुवाकोट घर भएकी बस्ताकोटीलाई चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार ५०० रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । फैसलापश्चात् फरार रहेकी बस्ताकोटीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टंकी–सिनवारी, मोरङबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा पेश गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय मोरङमा पठाइएको ब्यूरोले जनाएको छ । बस्ताकोटीले व्यावसायिक कारोबार विस्तार गर्ने प्रयोजनका लागि भनी किष्ट बैंकबाट कर्जा लिने मनसायले बैंकका तत्कालीन कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीको सहयोगमा बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीसमेतलाई प्रभावमा पारी कमसल धितो राखेकी थिइन् । धितोबापत कम्पनीको पुस्तक र भक्तपुरमा रहेको जग्गाको मूल्य १७ करोड पाँच लाख रुपैयाँ हुने गरी कमसल धितोको अधिक मूल्यांकन गराई २०६७ असार १ गते किष्ट बैंकबाट रु १२ करोड जोखिमयुक्त कर्जा लिएको र सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेको ब्यूरोले जनाएको छ । रासस
‘नेपाल छिमेकी मात्र होइन, असल मित्र पनि हो’-प्रम देउवा
नयाँ दिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका हुन् । भारत भ्रमणका क्रममा आजै दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक द्विपक्षीय भेटवार्तापछि सहमति र सम्झौतालगत्तै भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “खुला सिमानाका साथै अरु कैयौँ कारणले पनि नेपाल र भारतबीच महत्वपूर्ण र ऐतिहासिक सम्बन्ध रहिआएको छ । नेपालको आर्थिक समाजिक विकासका साथै नेपाल र नेपालीप्रति भारतले सधैंँ देखाउँदै आएको ऐक्यबद्धता, सद्भाव र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा नेपालले गरेको छ ।” प्रधानमन्त्री देउवाले नेपालको विकासमा प्रयासमा भारतको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण छ भन्दै विद्युतीय टान्समिसन लाइन, पञ्चेश्वर आयोजनाको सम्पन्नता एवम् नेपालमा सञ्चालनमा रहेका भारतीय सहयोगका आयोजनालाई समयमै सम्पन्न गर्न भारतीय पक्षबाट र विशेषगरी प्रधानमन्त्री मोदीबाट व्यक्त चासोप्रति विशेष धन्यवाद ज्ञापन गरे । दुई देशबीचको सहयोग र सम्झौताको क्षेत्रलाई दुवै देशको तहमा थप लाभदायक बनाउन संयुक्त रुपमै भेटघाट र वार्ताजस्ता कुरालाई निरन्तर गर्ने र थप गति दिनुपर्नेमा पनि उनले जोड दिए । उनले नेपालले नयाँ संविधानको कार्यान्वयनसँगै अब नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालमा जलस्रोत, पर्यटनलगायत कैयौँ क्षेत्रमा वैदेशिक लगानीका लागि नेपाल सरकारले आग्रह गरिरहेको र त्यसतर्फ विदेशी समुदायको आकर्षणका लागि पनि पहल गरिएको बताए । उहाँले भारतसँग नेपालको खुला सिमाना रहेको र यो सिमानाको फाइदा उठाएर अरु कुनै पनि तत्वले नेपाल वा भारतलाई हानि गर्ने खालका कुनै क्रियाकलाप नगरुन् भनेर नेपाल सचेत रहेको बताए । प्रधानमन्त्री देउवाले समृद्धि र आर्थिक विकासका क्षेत्रमा सफलताको उदाहरण भारतबाट नेपालले पनि सिकेर र उसको समृद्धिबाट फाइदा लिएर अघि बढ्न चाहेको उल्लेख गरेका छन् । उनले आजै केही क्षणअघि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाको सम्पन्नताका लागि नेपालसँग विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गरेको र त्यसलाई नेपालले जति सक्दो चाँडै सकेर पठाइने पनि जानकारी दिए। प्रधानमन्त्री देउवाले नेपालले नयाँ संविधानको निर्माण र यसको कार्यान्वयनसँगै नयाँ राजनीतिक अध्यायमा नेपाल प्रवेश गरेको भन्दै वर्तमान संविधानमा कतिपय विषयप्रति असन्तुष्टि राखिरहेकाले उनीहरूलाई पनि सम्बोधन गरी सबैको साझा धारणा र साझा राजनीतिक सहमतिका साथ अघि बढ्ने बताए । ती माग सम्बोधनका लागि हालै मात्र पनि नेपालको संसद्मा संविधान संशोधनको प्रस्ताव लगिएको र संसदीय प्रक्रियामा प्रवेश गरेको त्यो मुद्दाले पूर्णता नपाएको स्मरण गर्दै संविधानप्रति असहमति राखेका नागरिकको मागलाई सम्बोधन गर्ने गरी भविष्यमा पनि संविधान संशोधनको प्रक्रियालाई निरन्तरता दिइने स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाले ती असहमतिका बुँदामा सहमति कायम गर्ने गरी सबैलाई आगामी निर्वाचनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भारतले भूकम्पपछिको पुनःनिर्माणका लागि देखाएको सदाशयता र सहयोगको सराहना गर्दै भारतद्वारा प्रदान गरिएको यस सहयोगको पूर्णरुपमा सदुपयोग गरिने बताए । सोही पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको बृहत्तर विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर रहेको धारणा राखे । उनले भने, ‘भारत सँधै समृद्ध र शान्त नेपालको पक्षमा छ र यस्तो नेपाल देख्नका लागि सहयोग र साझेदरी बढाउन भारत सधैँ तयार छ ।’ प्रधानमन्त्री मोदीले सुरुमै नेपाली भाषामा छोटो सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डललाई स्वागत पनि गरेका छन्। उनले भने, ‘नेपालका प्रधानमन्त्री मान्यवर शेरबहादुर देउवा र तपार्इँको भ्रमणमा रहनुभएका सबै जनालाई भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।’ उनले प्रजातन्त्रको अभियान र त्यसको कार्यान्वयनका माध्यमबाट नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भनी कामना गर्दै संविधानको सफलताका साथ कार्यान्वयन गरी हालै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकेकामा नेपाललाई उहाँले विशेष बधाई दिए । भारत र नेपालको सम्बन्ध सामान्य नभएर विशिष्ट खालको रहेको बताउँदै उहाँले दुवै मुलुक असल छिमेकी मात्र नभएर असल मित्र पनि रहेको र एकार्काको खुसी र पीडामा पनि अनुभूति हुने खालको सम्बन्ध यी दुई देशको रहेको बताए। नेपालमा गएको भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणको काम भारत र नेपालले एकसाथ मिलेर गरिरहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुःखको बेलामा गरिएको सहकार्यले असल सम्बन्ध र छिमेकीको उदाहरण प्रस्तुत गरेको बताए। भारतले आफ्नो स्वतन्त्रताको ७० औँ वर्षगाँठ मनाइरहेको यस महत्वपूर्ण क्षणमा नेपालका प्रधानमन्त्रीको भ्रमण धेरै महत्वपूर्ण रहेको उनले टिप्पणी गरेका छन् । उहाँले भारतीय सहयोगमा नेपालमा जारी रहेका आयोजनाको सफल कार्यान्वयन तथा समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको प्रतिबद्धताका लागि विशेष धन्यवाद दिए । अरुण आयोजनामा जमीन समस्या हल अरुण तेस्रो जलविद्युत् आयोजनामा जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको जानकारी गराउँदै आयोजनाको शिलान्यासका लागि आफूलाई नेपाल आउन प्रधानमन्त्री देउवाले दिएको निमन्त्रणाले आफूलाई निकै खुसी लागेको उनले बताए। त्यस्तै भारत सरकारका तर्फबाट माग भइआएको पञ्चेश्वर आयोजनाको डिपिआर चाँडै नेपालले भारतलाई पठाउने जानकारी प्रधानमन्त्री देउवाले दिएको प्रति पनि उहाँले खुसी व्यक्त गरेका छन् । नयाँ संविधान र त्यसमार्फत स्थानीय निकायको निर्वाचन गरी लोकतान्त्रिक अभियानमा व्यक्तिगत रुपमा प्रधानमन्त्री देउवा र नेपाली जनताले गरेको संघर्षको प्रधानमन्त्री मोदीले प्रशंसा गरे । यसअघि आजै उनिहरूबीच हैदरावाद भवनमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित थिए। सो भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि थिए । सोही द्विपक्षीय वार्तामा भएको सहमतिबमोजिम आठ समझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस