काठमाडौं । नेपाल सरकारले भारतसँग जिटुजी माध्यमबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।
सरकारको यो निर्णयसँगै कृषकलाई आवश्यक मलको आपूर्ति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । विगतमा देखिँदै आएको मल अभावको समस्या समाधान गर्न भारतसँग प्रत्यक्ष सरकारी समन्वयमार्फत खरिद प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
सरकारले जिटुजी माध्यम अपनाउँदा मल आपूर्ति प्रक्रिया सहज, छिटो र पारदर्शी हुने अपेक्षा गरेको छ । यसले कृषकलाई समयमै मल उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।