काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा अघि बढिरहेको बताउँदै उच्च करको बोझ घटाउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा बोल्दै उनले अर्थतन्त्रलाई नयाँ दिशामा डोर्याउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
उनले महासंघको नेतृत्वलाई लक्षित गर्दै आन्तरिक एकता कायम गर्न सुझाव दिए ।
‘महासंघको चुनावमा पहिले जस्तो गुटबन्दी नगरौं । अब अर्थतन्त्र कता लैजाने भन्ने जिम्मेवारी तपाईंहरुकै काँधमा छ,’ उनले भने ।
अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ दुवै गण्डकी प्रदेशका भएकाले सहकार्यमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गरे ।
वाग्लेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्याउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको अग्रणी भूमिका रहने स्पष्ट पारे । ‘निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्न दिने हो, तर नियमनकारी भूमिकामा राज्य सधैं रहनेछ,’ उनले भने ।
उनले अब बजेट निर्माण प्रक्रिया विगतजस्तो अस्पष्ट र अन्योलपूर्ण नहुने दाबी गरे । ‘अबको बजेट वाचापत्रअनुसार आउनेछ, र हामी बोलेका कुरा कार्यान्वयनमा ल्याउँदैछौं,’ उनले जोड दिए ।
सरकारले कर प्रणाली सुधार गर्दै निजी क्षेत्रमाथिको अनावश्यक कर बोझ घटाउने काम अघि बढाएको उनले बताए । साथै, उद्यमी व्यवसायीले भनसुन, घुस र अनौपचारिक माध्यमबाट काम गराउने पुरानो अभ्यास अन्त्य गरिने उनले स्पष्ट पारे ।
‘अब राम्रो नियतका व्यवसायीलाई पनि दुःख दिने खराब नियतको ब्युरोक्रेसी सह्य हुँदैन, त्यसलाई ध्वस्त पार्छौं,’ उनले कडा रूपमा भने ।
उनले प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै लाइसेन्स प्रणालीमा रहेको जटिलता हटाउने र ‘लाइसेन्स राज’ अन्त्य गर्ने अभियान जारी रहेको बताए । साथै व्यवसायीहरूलाई अनावश्यक रूपमा डरत्रास वा धरपकडको वातावरण सिर्जना नहुने पनि उनले आश्वासन दिए ।
वाग्लेले आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गर्दै उद्यमी व्यवसायीलाई पारदर्शिता, उत्तरदायित्व र राष्ट्रप्रतिको प्रतिबद्धता प्रदर्शन गर्न आग्रह गरे । ‘निजी क्षेत्रले अभूतपूर्व जनमत हासिल गर्ने गरी विश्वास जित्नुपर्छ,’ उनले भने ।
उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सबै पक्षले जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै विगतका कमजोरीबाट सिकेर अब सुधारको नयाँ युगमा प्रवेश गर्नुपर्नेमा जोड दिए ।