आजबाट नाडा अटो शो सुरु, भौतिक पूर्वाधार मन्त्री बलायरले गरे उद्घाटन

काठमाडौं । मंगलबारदेखि गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु भएको छ । शोको औपचारिकरुपमा उद्घाटन भौतिक तथा पुर्वाधार मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरे । कार्यक्रममा मन्त्री बलायरले सवारीसाधनको व्यवसाय प्रवर्द्धनका लागि मुख्य कुरा भौतिक पूर्वाधार नै महत्वपुर्ण कुरा भएकाले सडक निर्माणलाई नै प्राथमिकतामा राखिएको बताए । सडक निर्माण भएको ६ महिना वर्ष दिन नबित्दै कालो पत्रे बिग्रिने भएको हुनाले कार्य संपादन राम्रो नभएको उनले बताए । उनले भने, ‘सडक विभागको कार्यक्षेत्र बाहेकका आयोजनाको जिम्मेवारीमा रहेका सडक बिग्रदा पनि सडक विभागलाई दोष आउँछ । अब हामीले बनाएको सडकमा मार्कर लगाउने निर्देशन दिएको छुँ ।’ सडकहरु निर्माण गर्दा उपयुक्त प्रावधान बनाएर अघि बढे मात्र स्थाइ पुर्वाधारको विकास हुने उनले बताए । “सडकहरुको गुणस्तरमा प्रश्न चिन्ह उठेको छ , १ वर्ष सरकारको ठुलो धनराशी खर्च गरेर सडक निर्माण गर्न पर्ने अर्को वर्ष पुर्ननिर्माणको लागि सरकारले पुनःखर्च गर्नुपर्ने बिडम्बना छ ।”– मन्त्रीले भने । भर्खरै सुरु गरिएको यातायात इम्बोस्ट नम्बर प्लेटले सडक दुर्घटनामा भने न्युनता ल्याएको उनले बताए । कार्यक्रममा नाडा अटोमोबाइल डिलर्स एसिसिएसनका अध्यक्ष अन्जन श्रेष्ठले विकासका नाममा हुनुपर्ने सडक निर्माणलाई राजनीतिक दबाबका कारण अवरोध पुग्ने गरेको आरोप लगाए । उनले भने, ‘मुलुक खुला अर्थतन्त्र नीति अवलम्बन गरिसकेको अवस्थामा गाडीलाई निषेध नै गर्न सकिदैन । त्यसैले यसलाई चलाउनका लागि पनि कनेक्टीभीटी अपरिहार्य छ ।’ श्रेष्ठले बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए । यसका लागि भेहिकल फिटनेसको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

चक्रपथ चौडा पार्ने काममा तीव्रता

काठमाडौं । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् । विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ धर्का तान्ने, बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ । यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए । “उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ”, खनालले भने । सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन् । रासस

म्यादी प्रहरीले आन्दोलन गर्ने, स्थायी बनाउन माग

काठमाडौं । म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन । उक्त कार्यक्रममा करिब डेढ सयको हाराहारीमा म्यादीहरु सहभागी भएका थिए । अहिलेका म्यादीहरु प्रहरीमा जागिर गर्न योग्य हुनुका साथै सरकारले भएका सरकारले म्यादीलाई प्रहरी सरहको तालिम र रासन भत्ता समेत दिईसकेको कारण अब म्यादीलाई प्रहरीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । यदि सरकारले तत्काल आफूहरुका माग पुरा नगरेर देशभरका म्यादी प्रहरीहरुलाई संगठित गर्ने भन्दै संयोजक थापाले यसका लागी तयारी भएर बस्न कार्यक्रममा सहभागी म्यादीहरुलाई निर्देशन समेत दिए । सरकारले स्थानीय तहको निर्वाचनका लागी गत बैशाखमा देशभरमा म्यादी प्रहरीमा भर्ना लिएको थियो ।