बाढीपीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउने
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो । आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ कट्टेलले भने ‘फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’ बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ । राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ । बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण संगैं केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्तीबाट सफलता प्राप्त गरिसकेको छ ।
दूध उत्पादन र बजारीकरणमा २ करोड ३४ लाख लगानी
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि २ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी हुने भएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ लगानी गर्ने, स्थानीय सहकारी संस्थाले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ गरी कुल २ करोड ३४ लाख ५३ हजार रुपैयाँ खर्च गरिने छथर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए। चिस्यान केन्द्र दूध ढुवानीका लागि सवारी साधान खरिद, प्रत्येक केन्द्रमा जेनेरेटर जडान गरिने भएको छ । केन्द्रमा दूध जाँच गर्ने यान्त्र, घाँस टुक्र्याउने मेसिन, तथा दूध संकलनका लागि भवनलगायतका पूर्वाधार निमार्णमा उक्त रकम लगानी गरिने संस्थाका व्यवस्थापक बुढाथोकीले जानकारी दिए । पूर्वाधार विकास तथा व्यवस्थापनसँगै गोठ सुधार कार्यालय स्थापना र कृषकमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । उन्नति नेपालको साँझेदारीमा जिल्लाको छथर क्षेत्रमा रहेका शुक्रबारे दूध उत्पादक सहकारी संस्था लिमिटेड ओख्रे, छिपुवा बहुउद्देश्य सकारी संस्था लिमिटेड सुदाप, पञ्चामृत पशुपालन सकारी संस्था लिमिटेड सुदाप, मचिन्द्र पशुपालन हकारी संस्था लिमिटेड सुदाप, ताक्लुङ कृषि सहकारी संस्था लिमिटेड ओख्रे, जलकन्या पशुपालन तथा कृषक सहकारी संस्था लिमिटेड हमरजुङ, सिंहदेवी, पशुपालन सहकारी संस्था लिमिटेड फाक्चामारा, सिंहदेबी दूध उत्पादक सहकारी संस्था लिमिटेड सुदाप, मार्गदेवी दूध उत्पादन सहकारी संस्था आङदिम र मखमली महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडले लगानी गर्ने छथर दुग्ध चिस्यान केन्द्रले जनाएको छ । यसअघि यस क्षेत्रमा दुई वटा मात्र चिस्यान केन्द्र सञ्चालित थिए । चिस्यान केन्द्र नहुँदा दूध उत्पादक किसानको दूध फाट्ने समस्या हुँदा दैनिक हजारौँ रुपैयाँ क्षति भोग्नुपरेको फाँक्चामारमा कृषक मनबहादुर कार्कीले बताए । यहाँको दूध न्युनतम ३० रुपैयाँदेखि अधितम ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । व्यावसायिक दुूध उत्पादन तथा बजारीकरणका लागि लगानी भएसँगै यहाँका कृषकले उत्पादन गर्दैआएको दूध बिक्रीमा सहज हुने भएको छ । दूध उत्पादनका लागि कृषकले उन्नत जातका गाईपालनलाई विस्तार गर्नुको साथै गोठ सुधार तथा पशु बीमालाई कृषक प्राथमिकताका लिँदै आएका छन् । रासस
कृषि विकास बैंककोे नयाँ २ शाखा पालुुङ्ग मैनादीमा र मनाङमा विस्तार
काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, पालुुङ्ग मैनादीका प्रवन्धक अर्जुुन खनालले गरे । कार्यक्रमका विशिष्ट अतिथी तथा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी दिए । त्यस्तैगरी, प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका उप–महाप्रबन्धक शेषरमण आचार्य, बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवा शाखा प्रमुख भरत राज घिमिरे ,शाखा कार्यालय पाल्पाका प्रबन्ध मोहन कुमार थापा लगायत अन्य कर्मचारीहरुको लगायतको उपस्थिति रहेको जानकारी दिएको छ । साथै, कार्यक्रमको संचालन कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका शाखा अधिकृत चेत नारायण खनाल भएको बैंकले जानकारी दिएको छ । त्यसैगरी, मनाङ जिल्लाको चामेमा रहेको कृषि विकास बैंक लि.को पूर्ण बैंकिङ्ग शाखाको औपचारिक उद्घाटन कृषि विकास बैंक लि.संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की एवं कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाूबाट संयुक्त रुपमा भयो । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, चामे बजार व्यवस्थापन समितिका अध्यक्ष, सम्पूर्ण सरकारी कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.ले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी गराउंदै आगामी दिनमा स्थानीय जनताको सहयोग भएमा बैंकले थप आधुनिक सेवा सुविधा सहित निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए । त्यस्तै गरी प्रमुख अतिथिको मन्तव्य राख्दै बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए । ।