देवचुली नगरपालिकामा सोलार बत्ती जडान, २ करोड ५० लाखको लगानी
नवलपरासी । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । यी ग्रामीण बस्तीमा बाटो पक्की बन्न सकेको छैन । बत्ती जडान भएपछि रातको समयमा गाउँ नै झिलीमिली भएको देवचुली–१२ गैडीका मुक्तीराम पराजुलीले बताए । देवचुली–११ धारापानी सातघरेचोककी कुमारी बराल सोलार बत्ती राखेपछि रातको समयमा हिँडडुल गर्न सहज भएको बताइन् । देवचुली नगरपालिकामा १७ वटा वडा छन् । उज्यालो नगर बनाउने योजनाअनुरुप नगरका सबै वडामा सोलार बत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताए । गएको तीनवटा आर्थिक वर्षमा नगरपालिकाभित्र २६१ वटा ठाउँमा सोलार बत्ती जडान गरिएको उनले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र देवचुली नगरपालिका र उपभोक्ता समेतको २ करोड ५० लाख लगानीमा सोलार बत्ती जडान गरिएको हो । रासस
नेपालमै बन्यो बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर, मूल्य ३ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर निर्माण भएको छ । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ ‘ विषयमा अध्ययनरत पाँच जना विद्यार्थीले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन् । स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा अपांगता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको ह्विल चियरलाई लियोपार्ड नाम दिइएको छ । ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ह्विलचियर सार्वजनिक गरेका छन् । ह्विल चियर निर्माणको लगानी सात लाख रुपैयाँ रहेको छ । यो ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनुपर्ने बाध्यता हट्ने विद्यर्थीको दाबी छ । यो ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैया सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए । युवा ईन्जिनियरहरुको कामको प्रशंसा गर्दै मन्त्री राणाले यस्तो खाले ह्विलचियरको प्रवर्द्धनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याए । के छ विशेषता ? नेपालमा चलन चल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विल चियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए। ह्विल चियरमा व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । यो ह्विल चियर उकालोमा पनि चढ्न सक्ने बिशेषता रहेको ईन्जिनियर परियारले जानकारी दिए । ह्विल चियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । यसलाई राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि ईन्जिनियरहरुले दाबी गरेका छन् ।
स्वावलम्बन बैंकद्वारा ८ जिल्लामा बाढीपीडितलाई राहत वितरण
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी १३ लाख २० हजार २ सय रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएको छ । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तर्गतको नियम अनुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।