मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन् । ‘पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ,’ यादव भन्छन्, ‘यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ ।’ हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ । यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताउँछन् । धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त छन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए । सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए । कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादव बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए । उनका अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ । सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
तत्काल बाम एकता गरिएन भने ठूलो दुर्घटना हुन सक्छ : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले तत्काल पार्टी एकता नभए पनि सहकार्य भने अब ढिला गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थी शक्तिहरूबीचको एकता समयको आवश्यकता भएको बताए । 'मिल्न जति ढिला गर्यो, दुर्घटना त्यति नै चाँडो हुन्छ। सहकार्य ढिला गर्ने नियत पनि दुर्घटना हुन सक्छ,' उनले भने । उनले २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई स्मरण गर्दै जनताले दुई तिहाइ बहुमत दिएर त्यसलाई अनुमोदन गरेको उल्लेख गरे । यद्यपि, उनले हतारमा गरिने एकताले पछि पश्चातापको अवस्था पनि आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए। '२०७४ मा हामी मिलेकै हो। जनताले दुई तिहाइ मत दिएर अनुमोदन पनि गरेका हुन् । तर, हतारमा एकता गर्ने र फुर्सदमा पश्चाताप गर्नुपर्ने अवस्था पनि आउनु हुँदैन', उनले भने । प्रचण्डले अहिले देश विभिन्न प्रकारका संकटको सामना गरिरहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न सबै प्रगतिशील र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । 'राष्ट्रका अगाडि आएका संकटविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ । हिजो पनि मिलेर सफलता प्राप्त गरेका थियौँ, आज पनि मिलेरै सफलता हासिल गर्न सक्छौँ । त्यसका लागि अनुकूल वातावरण बनाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,' उनले भने । उनले आफूले तत्काल पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पार्दै सहकार्यबाट प्रक्रिया सुरु गरेर क्रमशः एकताको दिशामा जानुपर्ने धारणा राखे । 'मैले आजै पार्टी एकता गर्नुपर्छ भनेको होइन। तर सहकार्य आज, भोलि वा जुनसुकै बेला पनि सुरु गर्न सकिन्छ । सहकार्यबाट सुरु गरौँ, त्यसपछि एकताको विकल्पतर्फ जानुपर्छ,' उनले भने । प्रचण्डले वामपन्थी शक्तिको एकतामात्र नभई मधेशी, थारू, जनजाति तथा अन्य राजनीतिक शक्तिबीच पनि कार्यगत सहकार्य आवश्यक रहेको बताए । विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दलहरूसँग विभिन्न मुद्दामा सहकार्य भएको स्मरण गर्दै उनले अहिले पनि साझा राष्ट्रिय मुद्दामा सबै शक्ति एक ठाउँमा आउनुपर्ने धारणा व्यक्त गरे । 'मैले वाम एकताको मात्रै कुरा गरेको होइन । मधेशी, थारू, जनजातिलगायत सबै राजनीतिक शक्तिहरू साझा राष्ट्रिय एजेन्डामा एक ठाउँमा उभिनुपर्छ । विगतमा नेपाली कांग्रेस, एमाले र मधेशी दलसँग पनि सहकार्य गरेका थियौँ। अब ती शक्तिहरू पनि कार्यगत एकतामा सहभागी हुनुपर्छ,' उनले भने । राजनीतिमा परिस्थितिअनुसार सोच र रणनीति परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले परिवर्तनलाई स्वीकार गर्न नसक्ने नेतृत्वले सफलताको नेतृत्व गर्न नसक्ने बताए । 'निरन्तरतामा क्रमभंग गरिराख्नुपर्छ। क्रममै बसिरह्यो भने कतै पनि पुगिँदैन। परिस्थिति फेरिएको छ। म नभएको भए जनयुद्ध हुँदैनथ्यो, अहिले फेरि सहकार्य र एकताको कुरा गरिरहेका छौँ । परिस्थितिअनुसार आफ्नो विचार परिवर्तन गर्न सक्नुपर्छ,' उनले भने । उनले वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न वैचारिक मतभेदभन्दा माथि उठेर साझा राष्ट्रिय हितका आधारमा राजनीतिक सहकार्य विस्तार गर्नु नै आजको आवश्यकता भएको बताए ।
'अब भावनाका रूपमा वाम एकता हुनुपर्छ, जो अगाडि बढ्दैन छुट्छ'
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब वामपन्थी शक्तिबीच भावनात्मक र सिद्धान्तनिष्ठ एकताको आवश्यकता रहेको बताएका छन् । उनले समयको मागअनुसार एकताका लागि अगाडि बढ्न नसक्ने शक्ति स्वतः पछाडि पर्ने चेतावनी पनि दिएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए । ‘अब भावनाका रूपमा वाम एकता हुनुपर्छ । सिद्धान्तनिष्ठ एकता हुनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने धारणासहित अगाडि बढ्नुपर्छ । जो अगाडि बढ्दैन, ऊ छुट्छ,’ उनले भने । उनले आफू मदन भण्डारीसँग लामो समयसम्म काम गरेको स्मरण गर्दै उनको कार्यशैली र सोचको साक्षी अझै जीवित रहेको बताए । ‘जिउँदा साक्षी म पनि छु । मदन भण्डारीले पार्टीलाई कसरी अघि बढाउनुभयो, समस्यालाई कसरी बुझ्नुभयो र समाधान खोज्नुभयो भन्ने कुरा मैले नजिकबाट देखेको छु,’ उनले भने । माधव नेपालले नेपालका कम्युनिस्ट दलहरू अहिले कमजोर बन्नुको कारण खोजेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, व्यक्तिवादी प्रवृत्ति, भ्रष्टाचार र वैचारिक विचलनका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उनको भनाइ छ । ‘हामीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ कि ? हामीभित्र के–के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ,’ उनले भने, ‘यो एउटा पार्टीको मात्रै विषय होइन । नेपालका सबै कम्युनिस्ट घटकले आत्ममन्थन गर्नुपर्छ । त्यसो गर्न सके मात्रै कम्युनिस्टहरूलाई एकताबद्ध गर्न सकिन्छ ।’ उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलनले अपेक्षित सफलता हासिल गर्न नसक्ने बताए । ‘हामी कहाँ चुक्यौँ ? कहाँ गल्ती गर्यौं ? यो उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन आज किन कमजोर भयो ? यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘विचार, सिद्धान्त, व्यक्तिवाद, भ्रष्टाचार वा अन्य के कारणले यस्तो अवस्था आयो भन्ने इमान्दारितापूर्वक मूल्यांकन हुनुपर्छ ।’ उनले कम्युनिस्ट आन्दोलनलाई पुनः जनविश्वासको केन्द्र बनाउन विचार, व्यवहार र संगठन तीनै पक्षमा सुधार गर्दै सिद्धान्तमा आधारित एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।