'अब भावनाका रूपमा वाम एकता हुनुपर्छ, जो अगाडि बढ्दैन छुट्छ'

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब वामपन्थी शक्तिबीच भावनात्मक र सिद्धान्तनिष्ठ एकताको आवश्यकता रहेको बताएका छन् । उनले समयको मागअनुसार एकताका लागि अगाडि बढ्न नसक्ने शक्ति स्वतः पछाडि पर्ने चेतावनी पनि दिएका छन् । 

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए ।

‘अब भावनाका रूपमा वाम एकता हुनुपर्छ । सिद्धान्तनिष्ठ एकता हुनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने धारणासहित अगाडि बढ्नुपर्छ । जो अगाडि बढ्दैन, ऊ छुट्छ,’ उनले भने । 

उनले आफू मदन भण्डारीसँग लामो समयसम्म काम गरेको स्मरण गर्दै उनको कार्यशैली र सोचको साक्षी अझै जीवित रहेको बताए । ‘जिउँदा साक्षी म पनि छु । मदन भण्डारीले पार्टीलाई कसरी अघि बढाउनुभयो, समस्यालाई कसरी बुझ्नुभयो र समाधान खोज्नुभयो भन्ने कुरा मैले नजिकबाट देखेको छु,’ उनले भने । 

माधव नेपालले नेपालका कम्युनिस्ट दलहरू अहिले कमजोर बन्नुको कारण खोजेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, व्यक्तिवादी प्रवृत्ति, भ्रष्टाचार र वैचारिक विचलनका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उनको भनाइ छ । 

‘हामीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ कि ? हामीभित्र के–के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ,’ उनले भने, ‘यो एउटा पार्टीको मात्रै विषय होइन । नेपालका सबै कम्युनिस्ट घटकले आत्ममन्थन गर्नुपर्छ । त्यसो गर्न सके मात्रै कम्युनिस्टहरूलाई एकताबद्ध गर्न सकिन्छ ।’

उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलनले अपेक्षित सफलता हासिल गर्न नसक्ने बताए ।

‘हामी कहाँ चुक्यौँ ? कहाँ गल्ती गर्यौं ? यो उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन आज किन कमजोर भयो ? यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘विचार, सिद्धान्त, व्यक्तिवाद, भ्रष्टाचार वा अन्य के कारणले यस्तो अवस्था आयो भन्ने इमान्दारितापूर्वक मूल्यांकन हुनुपर्छ ।’

उनले कम्युनिस्ट आन्दोलनलाई पुनः जनविश्वासको केन्द्र बनाउन विचार, व्यवहार र संगठन तीनै पक्षमा सुधार गर्दै सिद्धान्तमा आधारित एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिए । 
 

Share News