प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित

काठमाडाै‌ । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०३ बहुमतले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक, २०३ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । विगतमा देखिएको पूँजीगत खर्च न्यून हुने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्यका साथ सरकारले प्रभावकारी कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो । उनले सरकारले लगाएका करका व्यवस्थाले न्यून आय भएका नागरिकलाई अतिरिक्त भार नपर्ने स्पष्ट पार्दै अर्थतन्त्रलाई चलायमान बनाउन महत्वाकांक्षी बजेट ल्याइएको बताए । त्यसको सकारात्मक प्रभाव आगामी आर्थिक वर्षदेखि देखिन सुरु हुने उनको दाबी छ । अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर भ्याटको बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिए । उक्त समितिको सिफारिसका आधारमा आवश्यक नीतिगत निर्णय गरिने उनले बताए । बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत मुख्यतः आन्तरिक राजस्वबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा असहज अवस्था आए आकस्मिक व्यवस्थामार्फत स्रोत व्यवस्थापन गरिने पनि बताए । राइड सेयरिङ सेवामार्फत हुने अर्बौ रुपैयाँ बराबरको कारोबारलाई करको दायरामा ल्याउन आवश्यक नीतिगत व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको जानकारी पनि अर्थमन्त्री वाग्लेले दिए ।

‘कर घटाएर राजस्व बढाउँछौं, अब १५ वर्षसम्म कर नीति स्थीर हुन्छ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर घटाएर राजस्वको दायरा विस्तार गर्ने सरकारको नीति रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  बैठकमा उनले आगामी १५ वर्षसम्म कर नीतिलाई स्थिर र पूर्वानुमानयोग्य बनाउने लक्ष्य लिएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत व्यापक कर सुधारका कार्यक्रम अघि सारेको उल्लेख गर्दै पहिलो वर्ष कार्यान्वयनमा केन्द्रित हुने र दोस्रो वर्ष आवश्यक समीक्षा गरेपछि कर नीतिलाई दीर्घकालीन रूपमा स्थिर बनाइने बताए । ‘सोच्नै नसकिने कर सुधारका विषयहरू हामीले अघि सारेका छौं । पहिलो वर्ष कार्यान्वयन गर्छौं, दोस्रो वर्ष केही समीक्षा गर्छौं । त्यसपछि स्वाभाविक मार्गमा ल्याएर कर नीति स्थिर र पूर्वानुमानयोग्य बनाइन्छ । त्यसपछि सबैले कर नीति कम्तीमा १५ वर्षसम्म स्थिर रहने विश्वास गर्न सक्छन्,’ उनले भने ।  उनले नेपालको अधिकतम मार्जिनल कर दर २९ प्रतिशत रहेको उल्लेख गर्दै वर्तमान विश्व सन्दर्भमा यो प्रगतिशील (प्रोग्रेसिभ) कर प्रणालीकै उदाहरण भएको बताए । कर प्रशासनलाई थप जिम्मेवार र करदातामैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले प्रशासनले दुःख दिने नियत राखे करदातालाई सामान्य त्रुटिमा समेत अनावश्यक हैरानी हुन सक्ने बताए ।  ‘कर प्रशासनले दुःख दिने नियत राख्यो भने करदातालाई कमा र पूर्णविराममा पनि हेरेर दुःख दिन्छ । त्यसपछि घुसखोरी बढ्ने वातावरण बन्छ,’ उनले भने ।  भन्सार जाँचपासपछि महसुलसँगै लाग्ने जरिवाना सम्बन्धी व्यवस्थामा संशोधन गर्न सरकार सकारात्मक रहेको पनि उनले स्पष्ट पारे । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उपलब्ध गराइने विदेशी मुद्रा सटही सुविधामा लाग्दै आएको ३ प्रतिशत सेवा शुल्क उचित रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक नरहेको उनले बताए । ‘हामीलाई विदेशी मुद्रा, विशेषगरी डलरको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । त्यसैले ३ प्रतिशत सेवा शुल्क न्यायोचित छ,’ उनले स्पष्ट पारे ।  अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई जोखिम लिएर व्यवसाय गर्न प्रोत्साहन गर्ने वातावरण सिर्जना गरेको दाबी गरे । उनका अनुसार बजेटले उद्यमशीलता प्रवद्र्धन गर्दै युवा जनशक्तिलाई रोजगारी खोज्नेभन्दा व्यवसाय सिर्जना गर्ने दिशामा आकर्षित गर्ने लक्ष्य राखेको छ । उनले सरकारको उद्देश्य करको दर बढाएर होइन, कर प्रणालीलाई सरल, स्थिर र विश्वासयोग्य बनाउँदै आर्थिक गतिविधि विस्तारमार्फत राजस्व वृद्धि गर्ने रहेको बताए ।   

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

काठमाडौ । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झोलुंगे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।  केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । 'गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ,टीकापुर-५ का किरण चौधरीले भने, 'यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदो रहेछ ।' पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ । 'दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहज भएको छ,' स्थानीय प्रेमप्रसाद भण्डारी भन्छन्, 'पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा छ ।' २०८४ असार ११ सम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । कम्पनीका प्रबन्धक विक्रम बस्नेतले भने, ' पुलको काम सम्पन्न गरेर आवागमन सञ्चालन भइसकेको छ, अब हस्तान्तरणको तयारी पनि हुँदै छ ।' करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक बस्नेतले जानकारी दिए । 'आवतजावतको सहजतमा मात्रै नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ, 'स्थानीय सुन्दरलाल थारुले भने, ुत्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।'