चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार कार्य विकट भूगोल, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका कारण चुनौतीपूर्ण बनेको छ । कठिन परिस्थितिका बीच पनि उद्धार प्रयासलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको छ ।

उद्धारमा हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने निष्कर्षसँगै घटनास्थलसम्म ठूलो एक्स्काभेटर पुर्याउने तयारी सुरु गरिएको छ । त्यसका लागि स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पुग्ने पहुँच सडक निर्माणको काम आइतबारदेखि अघि बढाइएको छ ।

सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पलाई पनि सँगसँगै अघि बढाइएको छ । त्यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने काम भइरहेको छ ।

ठूला हेलिकोप्टर अवतरण गर्न नसकिने अवस्था रहेकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री, उपकरण र जनशक्ति घटनास्थलमा पुर्याउने प्रयास पनि जारी रहेको छ ।

उद्धार टोलीका अनुसार चुनौती ठूलो भए पनि उद्धार अभियान रोकिएको छैन । पहुँच विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको उद्धार कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ ।

Share News