काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त ड्रोन स्विट्जरल्यान्डको चर्चित कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको हो । यो ड्रोन विशेषगरी मानवीय उद्धार र जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिने जनाइएको छ ।
स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई ड्रोन हस्तान्तरण गरेका हुन् । ड्रोन विशेष गरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी डिजाइन गरिएको छ ।
ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ । त्यसैले सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता यसमा रहेको बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ड्रोनमार्फत सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा हेर्न सकिने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्याङ्कन गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्न र उद्धार रणनीति तय गर्न सहज हुनेछ ।
प्राधिकरणले नयाँ प्रविधिको प्रयोगबाट सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।