मनाङका नायब सुब्बा कण्डेलविरुद्ध ४० हजार घुस लिएको आरोपमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा कण्डेलले जग्गा रोक्का राख्ने काम गरिदिने नाममा सेवाग्राहीसँग घुसको बार्गेनिङ गर्दै विभिन्न बहाना बनाएर दुःख–हैरानी दिएको र अन्ततः ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै बिगो ४० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागसहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ। बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गने निर्णय गरेको छ । यी हुन् अन्य निर्णयहरू : -सरकारले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने । -(विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने । – शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र ९ व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने । (कारागार नियमावली २०८३ स्वीकृत गर्ने । – मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने । – भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने ।
मुख्यसचिव बने गोविन्दबहादुर कार्की
काठमाडाैं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । अर्याल करिब सात महिना मुख्यसचिव रहेर असार २६ गते उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।