बाढीले पनौती जलविद्युतमा ७ करोड क्षति, सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने

  काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त पनौती जलविद्युत केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत आयोजना वि.सं २०८१ असोजको बाढी पहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल २.४ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोसी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पुर्याएको छ । विपद्का कारण ७ करोड रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ । बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाले जानकारी दिए ।  यस्तै, बाँधबाट विद्युतगृहसम्म पानी लैजाने ‘क्यानल’ मा समेत क्षति पुगेको थियो । तिमिल्सिनाका अनुसार हालसम्म विद्युत् गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम पूरा भएको छ । नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ ।  हाल केन्द्रमा ‘सिभिल’तर्फको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ । विद्युतगृह वरपरको पहिरो नियन्त्रणका जैविक इन्जिनियरिङ लगायत काम सम्पन्न हुने चरणमा छ । निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे बढीमा एक वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ । तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको सो आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने निर्णय गरिसकेको छ । २७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाको उद्घाटन वि.सं २०२२ मा भएको थियो । 

१४० मेगावाटको तनहुँ जलविद्युतका सरकारले छुट्यायो ६ अर्ब बजेट

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले ६ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका-१ झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनामा हालसम्म ७५.५ प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ ।  बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुइवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।  यस्तै, विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उनका अनुसार जलाशयको पानीलाई विद्युतगृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ । 

भेरी-बबईको ४६.८ मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभी लाइन बन्दै

काठमाडौं । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि १.७ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित प्रसारण लाइनमा ९ वटा टावर रहनेछ । त्यसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ  । प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ । भेरी-बबईको प्रगति ७० प्रतिशत भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिए ।  अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गरेर निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिए ।  आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ । प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ ।