इन्धन र निर्माण सामग्रीको महँगीले ठप्प उद्योग, १० अर्बभन्दा बढी नोक्सानी

काठमाडौं । निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या प्रति नेपाल उद्योग वाणिज्य महासंघले ऐक्यबद्धता जनाउँदै सरकारले तत्काल मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख आधारका रूपमा रहेको निर्माण उद्योग इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धिका कारण गम्भीर संकटमा परेको जनाएको छ । यस्तो अवस्थाले निर्माण व्यवसायीहरूमा आर्थिक तथा मानसिक दबाब अत्यधिक बढेको महासंघको भनाइ छ । महासंघका अनुसार निर्माण क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । साथै, सरकारले गर्ने पूँजीगत खर्चको झण्डै ८० प्रतिशत हिस्सा यही क्षेत्रमार्फत खर्च हुने गर्दछ। तर पछिल्लो समय इन्धन, बिटुमिन लगायतका सामग्रीको मूल्यमा आएको अस्वाभाविक वृद्धिका कारण निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको छ । विज्ञप्तिअनुसार मध्यपूर्वमा युद्ध सुरु हुनु अघि डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ रहेकोमा हाल बढेर २२५ रुपैयाँ पुगेको छ । त्यस्तै बिटुमिनको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको छ । यस अवधिमा निर्माण व्यवसायीहरूले करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको महासंघले जनाएको छ । ढुवानी खर्च, श्रमिक लागत र अन्य निर्माण सामग्रीको मूल्यमा समेत तीव्र वृद्धि हुँदा उद्योग नै धराशायी हुने जोखिम बढेको उल्लेख गर्दै महासंघले निर्माण व्यवसायी महासंघले सरकारसँग पटक–पटक मूल्य समायोजनको माग गरे पनि सम्बोधन नभएको गुनासो गरेको छ । छिमेकी भारतले समेत मूल्यवृद्धिको अनुपातमा समायोजन दिइरहेको अवस्थामा नेपालमा भने त्यस्तो व्यवस्था नहुँदा देशभर सञ्चालनमा रहेका आयोजनाहरू बन्द हुने खतरा बढेको महासंघले चेतावनी दिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ अनुसार मूल्यवृद्धि भएमा अनिवार्य रूपमा मूल्य समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महासंघले सबै ठेक्कामा सो व्यवस्था लागू गर्न माग गरेको छ । महासंघले तत्काल मार्गनिर्देशन वा परिपत्र जारी गरी सबै अवधिका ठेक्कामा मूल्य समायोजन लागू गर्न र निर्माण उद्योगलाई धराशायी हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ ।

नक्साल सडकमा हिलो र माटो खसाल्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक क्षेत्रमा हिलो र माटो खसालेर फोहोर गर्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरका अनुसार काठमाडौं महानगर- १, नक्साल सडक क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्ने क्रममा सडक फोहोर गरिएको हो ।  ना २ ख ४२८ नम्बरको गाडीबाट निर्माण सामग्री ओसारपसार गर्दा सडकभरि माटो र हिलो खसालेर सार्वजनिक संरचना र थलो फोहोर पारेको भन्दै महानगरले कडा कदम चालेको हो । सडक क्षेत्र प्रदूषित बनाएको कसुरमा महानगरले कविन्द्र झालाई नगद ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएको छ । महानगरले पछिल्लो समय सडक, फुटपाथ र सार्वजनिक स्थानमा फोहोर गर्ने, निर्माण सामग्री जथाभाती राख्ने तथा ढुवानीका क्रममा सडक हिलाम्मे वा धुलाम्मे बनाउनेहरूमाथि कडा निगरानी राख्दै तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

वियर गेट जडानपछि माथिल्लो त्रिशूली–१ आयोजना अन्तिम चरणमा

रसुवा । कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न गरिएको छ ।  रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सागरराज गौतम, कोरियन साउथ–इस्ट पावर कम्पनी (कोएन) कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत  पार्क ताएयोङ, विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायतको उपस्थितिमा बिहीबार आयोजित कार्यक्रममा हाइड्रो–मेकानिकलतर्फको महत्वपूर्ण संरचनाअन्तर्गत तीनवटा वियर गेटमध्ये एकवटाको जडान तथा परीक्षण सञ्चालन सम्पन्न गरिएको हो ।  नदीको पानीको बहावलाई नियन्त्रण गरी विद्युत उत्पादनका लागि सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानीलाई सुरक्षित रूपमा नदीमा निकास गर्ने कार्य वियर गेटमार्फत गरिन्छ । निर्धारित प्राविधिक मापदण्डअनुसार गेट जडान तथा सञ्चालन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने तथा लक्षित समयमै आयोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वियर गेट जडान तथा सञ्चालन कार्य आयोजना व्यवस्थापन टोली, प्राविधिक विशेषज्ञ, निर्माण व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूबीचको समन्वय र निरन्तर प्रयासबाट सम्पन्न गरिएको हो । निर्माणका क्रममा गुणस्तर, सुरक्षा तथा वातावरणीय मापदण्डलाई उच्च प्राथमिकतामा राखिएको छ ।  कार्यक्रममा बोल्दै रसुवाका संघीय सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजना समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण साथ र सहयोग रहने उल्लेख गरे । समुदाय सहयोग कार्यक्रम, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजनाअन्तर्गत आयोजनना प्रभावित क्षेत्र र प्रभावित घरपरिवारको विकासका लागि हालसम्म सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको प्रशंसा गर्दै निर्माणसँगै यस्ता कार्यक्रमलाई अझै विस्तार गर्दै प्रभावकारी बनाउन सुझाव दिए ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सागरराज गौतमले वियर गेट जडान सफलतापूर्वक सम्पन्न हुनु आयोजनाका लागि महत्वपूर्ण प्राविधिक उपलब्धि भएको उल्लेख गर्दै आयोजनालाई लक्षित समयमै सम्पन्न गर्न मन्त्रालयकातर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।  कोएनका कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई अनुमानित लागत र समयमा सम्पन्न गर्न कम्पनीले विशेष ध्यान दिएको उल्लेख गरे । कोरियाले पछिल्लो समयमा नवीकरणीय ऊर्जामा लगानी विस्तार गरिरहेको उल्लेख गर्दै उनले अपार हरित ऊर्जाको सम्भावना रहेको नेपालका जलविद्युत आयोजनामा थप लगानी गर्न कम्पनी तयार रहेको बताए ।   नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले कोरियाली सरकारको स्वामित्वमा रहेको कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे । उनले आयोजनाले नेपालको विद्युत उत्पादन वृद्धि, ऊर्जा सुरक्षा सुदृढीकरण तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।  आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट जडान तथा सञ्चालन सम्पन्न हुनु आयोजनाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।  कोरियन कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको बाँध तथा सम्बन्धित संरचनाहरू रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा तथा भूमिगत विद्युतगृह उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।  आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पुस महिनादेखि सुरु गरिएको थियो । हाल ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ भने जटिल मानिएको २९२ मिटर लामो ठाडो सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्युतगृहको सिभिल संरचना निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रो–मेकानिकल उपकरण जडान कार्य जारी रहेको छ ।  उपकरण जडान सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ । सन् २०२४ र २०२५ मा त्रिशूली नदीमा आएको बाढीका कारण निर्माण कार्य प्रभावित भए पनि सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी रहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण इपिसी ढाँचामा निर्माण व्यवसायी डुसान एनरबिलिटीले निर्माण गरिरहेको छ ।  आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युतमध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।  काठमाडौं लोड सेन्टर नजिक रहेको तथा हिउँदमा समेत १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा उत्पादन हुने भएकाले माथिल्लो त्रिशूली–१ आयोजना नेपालको विद्युत प्रणालीका लागि अत्यन्त महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ ।  आयोजनाले सामुदायिक सहयोग कार्यक्रम, संस्थागत सामाजिक उत्तरदायित्व तथा आदिवासी समुदाय योजना अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धिलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।  कार्यक्रमहरुका लागि हालसम्म २३ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको र कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछन् । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सीपमूलक तालिममार्फत स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।  नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रा.लि कोएन , कोरिया ओभरसिज इन्फाइस्ट्रक्चर एण्ड अरवन डेभलप्पमेन्ट, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम र नेपाली साझेदारको संस्थागत लगानीमा आयोजनाको विकास गर्न संस्थापना भएको हो ।