७ हजार ४६२ बालबालिका सरकारको संरक्षणमा
काठमाडौं । चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका ५८८ जनाको उद्धार गरिएको छ । सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्ममा उद्धार गरिएका ५८८ जनासमेत गरी सरकारले सात हजार ४६२ बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्शलगायत सेवा उपलब्ध गराएको हो । आव २०८१/८२ मा हिंसा तथा जोखिममा परेका एक हजार ५५ बालबालिकाको तत्काल उद्धार गरिएको थियो । त्यसैगरी, सरकारले सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानअनुसार २०७३ वैशाख २७ देखि २०८२ को फागुनसम्म दुई हजार ६५८ (बालक दुई हजार २५८ र बालिका ४००) सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र बालबालिका उत्तरदायी बजेट सङ्केत कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयन गरेको छ । कानुनको विवादमा परेका एक हजार १७६ बालबालिका १० बालसुधार गृहमा रहेका छन् । चालु आवमा नुवाकोटस्थित केन्द्रीय कारागारमा १८ वर्ष माथिका बालकलाई व्यवस्थापन गर्नका लागि बालसुधारगृह सञ्चालनमा आएको छ । चालु आवमा हराएका पाँच हजार ३६१ बालबालिका (बालक एक हजार ३८८ र बालिका तीन हजार ९७३ को खोजतलास गरी सोमध्ये चार हजार ९२९ जना बालक एक हजार २८९ र बालिका तीन हजार ६४०) बालबालिका फेला परी परिवारमा पुनर्मिलन भएका छन् । आव २०८१/८२ मा देशभर हराएका आठ हजार १८९ ९बालक दुई हजार १७९ र बालिका छ हजार जना बालबालिकाको खोजतलास गरी सोमध्ये फेला परेका सात हजार ६०४ बालक दुई हजार ३७ र बालिका पाँच हजार ५६७ परिवारमा पुनर्मिलन भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा देशभर बेवारिसे अवस्थामा फेला परेका ४०९ बालबालिका (बालक २४६ र बालिका १६३) मध्ये २९८ बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन भएको छ । त्यसमध्ये १११ बालबालिकालाई पालनपोषण तथा संरक्षणका लागि बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रको प्रबन्ध गरी पुनःस्थापना गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को समन्वय, सहयोग र सहजीकरणमा हालसम्म ७५३ स्थानीय तहमध्ये ३९४ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । चार सय ९० स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्त भएका छन् । तीन सय १० स्थानीय तहमा स्थानीय बालकोष स्थापना भएको र ४४२ स्थानीय तहले बाल अधिकार सम्मान, संरक्षण, सम्वद्र्धनसम्बन्धी एकीकृत कार्यविधि निर्माण गरी लागू गरेका छन् ।
सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...
काठमाडौं । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ । कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ । बर्दियाको बाँसगढी नगरपालिका-४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रुस पुगेका थिए । रुसमा उनको युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबर पाउन श्रीमती इन्दिरा उतै पुग्नुपर्यो । श्रीमान्को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा ४० वर्षीय इन्दिरा तीन सन्तानलाई लिएर पोखराको बाटुलेचौरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । लामो समयसम्म श्रीमान्को कुनै खबर नआएपछि हारगुहार गर्दै उनी रुस पुगेकी थिइन् । सम्पर्कविहीन श्रीमान्को निधन नै भएको थाहा पाएर सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयाघात भयो । रुसस्थित नेपालीहरूको सहयोगमा उनलाई ओएमं पिलाटाभका नाममा रहेको सिष्टी क्लिनिकल अस्पताल १५ नम्बरको २३ वेश्न्याका भस्काया स्ट्रिट, मस्कोमा उपचारका लागि लगिएको थियो । गत वैशाख ३१ गते उपचारकै क्रममा इन्दिराको निधन भयो । अहिलेसम्म पनि शव परीक्षण रिपोर्ट आउन सकेको छैन र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको इन्दिराका बुवा चिरन कार्की बताउँछन् । छोरी फागुनको ४ गते श्रीमान्को खोजी गर्न रुसका लागि पोखराबाट काठमाडौंतर्फ लागेको उनले जानकारी दिए। इन्दिराका परिवार अहिले मामाघरमा सँगै बस्दै आएका छन् । इन्दिराका कान्छा छोरा आठ वर्षीय सौरव थापामगर कक्षा ३ मा पढ्छन् । मुटुमा समस्या भएका कारण सौरवको बेग्लै समस्या छ । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावले उपचार रोकिएको छ । आमाको निधन भएको थाहा नदिएइ पनि केही दिनयता नाती सौरव बाटोतर्पm हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो स्वभावको बन्दै गएको सौरवका हजुरबुबा कार्की बताउँछन् । पोखरा महानगरपालिका वडा नं १३ कसेरीस्थित मामाघरमा आश्रय लिएर बसिरेहका सौरवले भने, “आमा आउँदा साइकल ल्याइदिन्छु भन्नुभएको छ ।” ठूलो छोरा निरज थापामगरले भने घर राम्रोसँग हेर्नु र भाइबहिनीको ख्याल गर्नु भनेर आमाले सम्झाएर जानु भएको थियो आज यस्तो अवस्था आयो । ‘बुवाको निधनको पुष्टि भएपछि कुशको शव वनाएर दाहसंस्कार गर्यौं,’ भावविह्ल हुँदै २४ वर्षीय निरजले भने, ‘बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो अब के गर्ने ?’ थापामगर परिवारको यो समस्या केबल एउटा परिवारको पीडा मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ पनि हो । गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ । त्यसको सबैभन्दा ठूलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेको छन् । यो परिवारमा भविष्यको भन्दा पनि शव ल्याउने समस्यासमेत जटिल बनेको छ । पोखरा महानगरपालिका-१७ आँखा अस्पतालचोक निवासी इन्दिराकी माइतीतर्फ कान्छीआमा दिलमाया कार्कीका अनुसार एक साताअघि मात्रै इन्दिरासँग फोन सम्पर्क भएको थियो । ‘एउटै समस्या भएका हामी १२ जना नेपाली महिला एउटै कोठामा बसेका थियौँ, धेरै जना काम सकेर फर्किनुभयो कोठामा कसैले कसैलाई सहयोग गर्न गर्दैनन् । घर फर्किन पाए परिवारलाई भेट्थेजस्तो लागिरहेको छ’, इन्दिराले सुनाएको पीडा दिलमायाले सम्झाइन् । विमानस्थलमा अलपत्र परेकी इन्दिरालाई एक जनाले भेटेर हिन्दी भाषामा समस्या सुनाएपछि नेपालीले सहयोग गरेका थिए । इन्दिराको सहयोगी बनेर रुस पुगेका माइतीतर्फका काकाको छोरा भाइ सुरज कार्कीलाई सहयोगीका रूपमा लिएर रुसको मस्को विमानस्थलमा झर्नेवित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्दै थियो एकै छिनमा नेपाल फर्काइदियो । ‘भाइको कपडा मेरो झोलामा थियो र सम्पूर्ण रकम भाइसँग थियो बोल्न पनि नपाएपछि बेखर्ची भएर विमानस्थलमै अलपत्र परे’ छोरीले दिलमायाले भक्कानिँदै आँखाभरी आँसु पार्दै बताइन् । अब बितेका दुवै जानको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालमा अल्ट्राभोइलेट इलेक्ट्रीक मोटरसाइकलको नयाँ वितरकमा वैद्यज अर्गनाइजेसन नियुक्त
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटको नेपालका लागि आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यसअघि केडिया ग्रुपले बिक्री गर्दै आएको यस ब्राण्डको डिलरशिप पाएसँगै प्रिमियम इलेक्ट्रीक स्कुटर एथर बिक्री गरिरहेको वैद्यज अर्गनाइजेसनले अब अल्ट्राभोइलेटका मोटरसाइकल पनि आफ्नो पोर्टफोलियोमा थपेको हो । यो साझेदारीसँगै कम्पनीले देशभर प्रिमियम शोरुम, अत्याधुनिक सर्भिस पूर्वाधार र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्कसहित आक्रामक बजार विस्तारको योजना अघि बढाएको छ । अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यम र वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले यो सहकार्यले नेपालको ईभी मोटरसाइकल बजारलाई पूर्ण रूपमा नयाँ युगमा लैजाने र ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ डिलरशिप पाएसँगै कम्पनीले बजार विस्तारलाई तीव्र पार्दै आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल एक्स ४७ क्रसओभर नेपाल ल्याउने तयारी गरेको छ, जसको प्रि(बुकिङ छिट्टै सुरू हुनेछ । साथै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटको लोकप्रिय मोडल एफ ७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ ७७ रिकन को मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरिसकेको छ । एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्रीप्याक र ३० किलोवाटको मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ३२३ किमीको रेन्ज र १५५ किमी प्रतिघण्टाको टप स्पीड दिन्छ । मात्र २.८ सेकेन्डमा ० देखि ६० किमीको रफ्तार समात्न सक्ने यो बाइकमा ३९ लेभल ट्रयाक्सन कन्ट्रोल, १० लेभल रिजेनेरेटिभ ब्रेकिङ प्रणाली, डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश छन् ।