काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा, तराईमा शीतल महसुस
काठमाडौं । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ । अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौंसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए। बिहीबार (आज) मात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ । विभागले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए । मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन/चार दिन शीतल महसुस हुने सम्भावना छ । उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी) मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ । विभागका अनुसार शुक्रबार (भोली) देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
७ हजार ४६२ बालबालिका सरकारको संरक्षणमा
काठमाडौं । चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका ५८८ जनाको उद्धार गरिएको छ । सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्ममा उद्धार गरिएका ५८८ जनासमेत गरी सरकारले सात हजार ४६२ बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्शलगायत सेवा उपलब्ध गराएको हो । आव २०८१/८२ मा हिंसा तथा जोखिममा परेका एक हजार ५५ बालबालिकाको तत्काल उद्धार गरिएको थियो । त्यसैगरी, सरकारले सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानअनुसार २०७३ वैशाख २७ देखि २०८२ को फागुनसम्म दुई हजार ६५८ (बालक दुई हजार २५८ र बालिका ४००) सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र बालबालिका उत्तरदायी बजेट सङ्केत कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयन गरेको छ । कानुनको विवादमा परेका एक हजार १७६ बालबालिका १० बालसुधार गृहमा रहेका छन् । चालु आवमा नुवाकोटस्थित केन्द्रीय कारागारमा १८ वर्ष माथिका बालकलाई व्यवस्थापन गर्नका लागि बालसुधारगृह सञ्चालनमा आएको छ । चालु आवमा हराएका पाँच हजार ३६१ बालबालिका (बालक एक हजार ३८८ र बालिका तीन हजार ९७३ को खोजतलास गरी सोमध्ये चार हजार ९२९ जना बालक एक हजार २८९ र बालिका तीन हजार ६४०) बालबालिका फेला परी परिवारमा पुनर्मिलन भएका छन् । आव २०८१/८२ मा देशभर हराएका आठ हजार १८९ ९बालक दुई हजार १७९ र बालिका छ हजार जना बालबालिकाको खोजतलास गरी सोमध्ये फेला परेका सात हजार ६०४ बालक दुई हजार ३७ र बालिका पाँच हजार ५६७ परिवारमा पुनर्मिलन भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा देशभर बेवारिसे अवस्थामा फेला परेका ४०९ बालबालिका (बालक २४६ र बालिका १६३) मध्ये २९८ बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन भएको छ । त्यसमध्ये १११ बालबालिकालाई पालनपोषण तथा संरक्षणका लागि बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रको प्रबन्ध गरी पुनःस्थापना गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को समन्वय, सहयोग र सहजीकरणमा हालसम्म ७५३ स्थानीय तहमध्ये ३९४ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । चार सय ९० स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्त भएका छन् । तीन सय १० स्थानीय तहमा स्थानीय बालकोष स्थापना भएको र ४४२ स्थानीय तहले बाल अधिकार सम्मान, संरक्षण, सम्वद्र्धनसम्बन्धी एकीकृत कार्यविधि निर्माण गरी लागू गरेका छन् ।
सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...
काठमाडौं । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ । कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ । बर्दियाको बाँसगढी नगरपालिका-४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रुस पुगेका थिए । रुसमा उनको युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबर पाउन श्रीमती इन्दिरा उतै पुग्नुपर्यो । श्रीमान्को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा ४० वर्षीय इन्दिरा तीन सन्तानलाई लिएर पोखराको बाटुलेचौरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । लामो समयसम्म श्रीमान्को कुनै खबर नआएपछि हारगुहार गर्दै उनी रुस पुगेकी थिइन् । सम्पर्कविहीन श्रीमान्को निधन नै भएको थाहा पाएर सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयाघात भयो । रुसस्थित नेपालीहरूको सहयोगमा उनलाई ओएमं पिलाटाभका नाममा रहेको सिष्टी क्लिनिकल अस्पताल १५ नम्बरको २३ वेश्न्याका भस्काया स्ट्रिट, मस्कोमा उपचारका लागि लगिएको थियो । गत वैशाख ३१ गते उपचारकै क्रममा इन्दिराको निधन भयो । अहिलेसम्म पनि शव परीक्षण रिपोर्ट आउन सकेको छैन र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको इन्दिराका बुवा चिरन कार्की बताउँछन् । छोरी फागुनको ४ गते श्रीमान्को खोजी गर्न रुसका लागि पोखराबाट काठमाडौंतर्फ लागेको उनले जानकारी दिए। इन्दिराका परिवार अहिले मामाघरमा सँगै बस्दै आएका छन् । इन्दिराका कान्छा छोरा आठ वर्षीय सौरव थापामगर कक्षा ३ मा पढ्छन् । मुटुमा समस्या भएका कारण सौरवको बेग्लै समस्या छ । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावले उपचार रोकिएको छ । आमाको निधन भएको थाहा नदिएइ पनि केही दिनयता नाती सौरव बाटोतर्पm हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो स्वभावको बन्दै गएको सौरवका हजुरबुबा कार्की बताउँछन् । पोखरा महानगरपालिका वडा नं १३ कसेरीस्थित मामाघरमा आश्रय लिएर बसिरेहका सौरवले भने, “आमा आउँदा साइकल ल्याइदिन्छु भन्नुभएको छ ।” ठूलो छोरा निरज थापामगरले भने घर राम्रोसँग हेर्नु र भाइबहिनीको ख्याल गर्नु भनेर आमाले सम्झाएर जानु भएको थियो आज यस्तो अवस्था आयो । ‘बुवाको निधनको पुष्टि भएपछि कुशको शव वनाएर दाहसंस्कार गर्यौं,’ भावविह्ल हुँदै २४ वर्षीय निरजले भने, ‘बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो अब के गर्ने ?’ थापामगर परिवारको यो समस्या केबल एउटा परिवारको पीडा मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ पनि हो । गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ । त्यसको सबैभन्दा ठूलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेको छन् । यो परिवारमा भविष्यको भन्दा पनि शव ल्याउने समस्यासमेत जटिल बनेको छ । पोखरा महानगरपालिका-१७ आँखा अस्पतालचोक निवासी इन्दिराकी माइतीतर्फ कान्छीआमा दिलमाया कार्कीका अनुसार एक साताअघि मात्रै इन्दिरासँग फोन सम्पर्क भएको थियो । ‘एउटै समस्या भएका हामी १२ जना नेपाली महिला एउटै कोठामा बसेका थियौँ, धेरै जना काम सकेर फर्किनुभयो कोठामा कसैले कसैलाई सहयोग गर्न गर्दैनन् । घर फर्किन पाए परिवारलाई भेट्थेजस्तो लागिरहेको छ’, इन्दिराले सुनाएको पीडा दिलमायाले सम्झाइन् । विमानस्थलमा अलपत्र परेकी इन्दिरालाई एक जनाले भेटेर हिन्दी भाषामा समस्या सुनाएपछि नेपालीले सहयोग गरेका थिए । इन्दिराको सहयोगी बनेर रुस पुगेका माइतीतर्फका काकाको छोरा भाइ सुरज कार्कीलाई सहयोगीका रूपमा लिएर रुसको मस्को विमानस्थलमा झर्नेवित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्दै थियो एकै छिनमा नेपाल फर्काइदियो । ‘भाइको कपडा मेरो झोलामा थियो र सम्पूर्ण रकम भाइसँग थियो बोल्न पनि नपाएपछि बेखर्ची भएर विमानस्थलमै अलपत्र परे’ छोरीले दिलमायाले भक्कानिँदै आँखाभरी आँसु पार्दै बताइन् । अब बितेका दुवै जानको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्नेमा उनको जोड थियो ।