काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।
कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड १ लाख २० हजार २५२ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराएको छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख ६ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड ४ लाख २५ हजार २१६ रुपैयाँ र अवकाश दाबीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।
पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।