सभामुखको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा नियमावली विपरीत व्याख्या गरिएको भन्दै सभामुखका केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । आइतबार आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि एमालेले नियमापत्ति जनाउँदै सभामुखको भनाइप्रति आपत्ति जनाएको हो । एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ सम्बन्धमा सभामुखबाट गरिएको व्याख्या नियमावलीको मर्म र व्यवस्थाविपरीत रहेको दाबी गरे । उनले सभामुखले नियमावलीको गलत अर्थ लगाएको भन्दै त्यससम्बन्धी अभिव्यक्ति संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे । महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका क्रममा सभामुखले दिएको व्याख्याले संसदीय अभ्यास र नियमावलीमा उल्लेखित व्यवस्थालाई नै प्रभावित गर्ने अवस्था सिर्जना गरेको बताए । उनले नियमावलीमा स्पष्ट रूपमा उल्लेख भएका प्रावधानलाई फरक ढंगले व्याख्या गर्नु उचित नहुने उल्लेख गर्दै सभामुखको उक्त भनाइ रेकर्डमा राख्न नहुने धारणा राखे । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसदहरूलाई प्रश्न सोध्न दिइएको समय र त्यससम्बन्धी सभामुखको व्याख्यालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतभेद देखिएको छ । एमालेले सभामुखको व्याख्या नियमावलीअनुकूल नभएको जिकिर गरिरहेको छ भने यस विषयमा संसद्मा थप छलफल हुने सम्भावना रहेको छ ।
बिजुलीमा भ्याटबारे प्रधानमन्त्री : ५ प्रतिशतको भ्याट आवश्यक थियो
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्युत उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट विद्युत पूर्वाधारको क्षमता विस्तारका लागि उपयोग गरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले विद्युतीय पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरेको बताएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बिजलुीमा ५ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका थिए । यो विाष्यमा राप्रपा सांसद खुश्बु ओलीले प्रश्न राखेकी थिइन् । प्रश्नको जवाफ दिँदै उनले अहिलेको विद्युत प्रणालीलाई थप मजबुत नबनाई पूर्ण रूपमा विद्युतीय प्रयोगमा जान कठिन हुने बताए । उनका अनुसार घरायसी प्रयोगमा विद्युतीय उपकरणको प्रयोग तीव्र रूपमा बढे पनि त्यसअनुसारको पूर्वाधार तयार भइसकेको छैन । अहिले सबै घरमा खाना पकाउन इन्डक्सनजस्ता विद्युतीय उपकरणको प्रयोग एकैपटक बढे विद्युत प्रणालीले धान्न नसक्ने अवस्था रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री शाहले ट्रान्सफर्मर, सबस्टेसन र प्रसारण लाइनको क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक पर्ने भन्दै त्यही आवश्यकतालाई ध्यानमा राखेर सरकारले ५० युनिटभन्दा माथिको विद्युत उपभोगमा ५ प्रतिशत भ्याटको व्यवस्था गरेको स्पष्ट पारे । ‘विद्युतीय प्रयोग विस्तार गर्ने हाम्रो लक्ष्य छ, तर त्यसका लागि आवश्यक पूर्वाधार पनि समानान्तर रूपमा विस्तार गर्नुपर्छ,’ उनले भने, ‘उठेको राजस्व ट्रान्सफर्मर स्तरोन्नति, प्रसारण लाइन विस्तार र विद्युत वितरण प्रणालीलाई थप भरपर्दो बनाउन खर्च हुन्छ ।’ शुक्रबार सार्वजनिक भएको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था घोषणा गरिएको थियो । सरकारले उक्त व्यवस्थालाई ऊर्जा पूर्वाधार विस्तारसँग जोडेर अघि बढाएको जनाएको छ ।
प्रश्नोत्तर लगत्तै संसदबाट बाहिरिए प्रधानमन्त्री बालेन, विपक्षीको विरोध
काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न विषयमा जवाफ दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सदनबाट बाहिरिएका छन् । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले भूमि विवाद, सुकुम्बासी व्यवस्थापन, सहकारी समस्या, विदेशमा रहेका नेपालीको मतदान अधिकार, मानव अधिकार आयोगको प्रतिवेदन तथा बाँदर व्यवस्थापनलगायत विषयमा सरकारको धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताएका थिए। उनीहरूलाई धपाउने नभई ज्यानको सुरक्षा गर्ने उद्देश्यले स्थानान्तरण गरिएको उनको भनाइ थियो । देशभरका भूमिहीन नागरिकको व्यवस्थापन सरकारले गर्ने र त्यसका लागि सम्बन्धित निकायमार्फत काम अघि बढिरहेको उनले बताएका थिए । त्यस्तै, लिपुलेक-लिम्पियाधुरा क्षेत्रबारे सरकारले कूटनीतिक पहल जारी राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारतसँग संवाद भइरहेको बताएका थिए । सहकारी पीडितका समस्या समाधानका लागि छुट्टै कोष निर्माणको काम अघि बढिरहेको र त्यसमा भ्रम फैलाउन नहुने उनको भनाइ थियो । प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा पनि सरकार गम्भीर रहेको बताए । मोबाइलमार्फत वा नेपाली दूतावासमार्फत मतदान गर्ने व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने उनले जानकारी दिए । सांसदहरूको प्रश्नको जवाफ सकिएलगत्तै प्रधानमन्त्री बालेन सदनबाट बाहिरिएका थिए । प्रधानमन्त्री बाहिरिएपछि विपक्षी दलका सांसदहरूले भने त्यसप्रति आपत्ति जनाएका छन् । प्रश्नोत्तर कार्यक्रम सकिए पनि प्रधानमन्त्रीले सदनमै बसेर थप छलफल सुन्नुपर्ने भन्दै विपक्षी सांसदहरूले विरोध गरेका हुन् । प्रधानमन्त्री बाहिरिएपछि सदनमा होहल्ला भइरहेकाे छ । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिमाथि प्रश्न उठाउँदै आफ्नो असन्तुष्टि जनाइरहेका छन् ।