काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन तथा गठनका विषयमा ३ बुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दल सहकार्य गर्न सहमत भएका छन् ।
सहमतिको पहिलो बुँदामा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ ।
दोस्रो बुँदाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।
त्यसैगरी, तेस्रो बुँदामा मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ ।
उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
