विपक्षी दल अडानमा कायमै हुँदा प्रतिनिधिसभा बैठक अझै अनिश्चित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक मंगलबार (आज) अपरान्ह १ बजेका लागि आह्वान गरिए पनि समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।  प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म बैठक अघि बढ्न नदिने अडान कायम राखेका छन् । संसद् सचिवालयले भने बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले सचिवालय बैठक सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । यसैबीच नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री तथा सांसद प्रकाशसिंह कार्कीले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सभामुख निष्पक्ष रेफ्रीको भूमिकामा रहनुपर्नेमा खेलाडी बनेर आफै गोल गर्ने शैलीमा अघि बढ्न खोज्नु आपत्तिजनक भएको टिप्पणी गरे । सत्तापक्ष र विपक्षी दलबीच जारी विवादका कारण प्रतिनिधिसभा बैठक कहिले सुरु हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।

सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्नु भएको होइन

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको नभनेको बताएका छन् ।  मंगलबार मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा पत्रकारले यो विषयमा सोध्दा उनले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो, सीमा नै मिचेको उहाँ आफैंले भन्नु भएको होइन ।’ यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनको भनाइ छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको रहेको उनको भनाइ छ ।  संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको जग्गा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए । अहिले प्रधानमन्त्री वालेन्द्र शाहको उक्त अभिव्यक्तिका विषयमामा सडकदेखि संसदसम्म आलोचना भइरहेको छ ।  यस्तै, उनले सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको पनि बताएका छन् ।  उनले त्याे भनाइ सत्य नै भए पनि प्रधानमन्त्रीको आफ्नै भनाइ भने नरहेको बताएका छन् । उनले अरुले भनेको कुुरा संसदमा उल्लेखमात्रै गरेको बताए । 

मन्त्रिपरिषद्का ४ निर्णय

काठमाडौं । सरकारले ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गरेको छ । मंगलबार (आज) बसेको  मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो । त्यसैगरी, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बलका नायब निरीक्षक अन्जनीकुमार पोख्रेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले भूमि समस्या समाधान समितिका रिक्त पदहरूमा पनि पदाधिकारी नियुक्त गरेको छ । समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ  । समितिका सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले मनोनयन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय पनि भएको छ ।