काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स वडा कार्यालयमा दाखिला नगरी निजी नियन्त्रणमा राखिएको थियो । सोही एम्बुलेन्स सञ्चालनबाट उठेको आम्दानी पनि सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।
अनुसन्धानका क्रममा एम्बुलेन्सको लगबुक नराखिएको, सेवा सञ्चालनबाट भएको आम्दानी र खर्चको विवरण नगरपालिकामा बुझाइएको नदेखिएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार पूर्व वडाध्यक्ष यादवले एम्बुलेन्सलाई निजी सवारीसरह प्रयोग गर्दै तीन वर्ष पाँच महिनामा ३० हजार १८५ किलोमिटर सञ्चालन गरेका थिए । त्यसबाट १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना भएको निष्कर्ष निकालिएको छ ।
यही आधारमा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपपत्र दायर गरेको हो । अनुसन्धानका क्रममा यादवले तीन लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेकाले बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्नसमेत मागदाबी गरिएको आयोगले जनाएको छ ।