ओभरलोडमा ५ लाख जरिवाना, ट्रक व्यवसायी महासंघको आपत्ति

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवाना सम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको बताए । उनका अनुसार विधेयकमा समेटिएका वजनको हद निर्धारण, तौल पुलमार्फत अनिवार्य वजन परीक्षण तथा सडक संरचनाको संरक्षणसम्बन्धी व्यवस्था आवश्यक र स्वागतयोग्य छन्। तर, उनले यस्ता धेरै व्यवस्था यसअघि नै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५६ मा समावेश रहेको उल्लेख गर्दै ती कानुन पनि संशोधनको क्रममा संसद्मा रहेकाले एउटै विषय दोहोरिने (डुप्लिकेशन) अवस्था सिर्जना हुन सक्ने बताए। बानियाले कानुन बनाउनु मात्रै पर्याप्त नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनका अनुसार नेपालमा हाल पनि पर्याप्त कानुनी रहेका र नियमनकारी निकायको उदासीनता, आवश्यक बजेट र जनशक्तिको अभावका कारण प्रभावकारी अनुगमन हुन सकेको छैन । यसकै फाइदा उठाउँदै केही उद्योगी तथा व्यवसायीले ओभरलोड ढुवानीजस्ता कार्यबाट लाभ लिइरहेको उनको भनाइ छ । विधेयकको दफा १३ अनुसार तोकिएको सीमा भन्दा बढी भार बोकेको मालवाहक सवारी साधनलाई तौल पुलमा परीक्षण गरी बढी भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, दफा १३ को उपदफा (१) वा (३) विपरीत मालवाहक सवारी सञ्चालन गरेमा सवारीधनीलाई प्रतिपटक तत्काल ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । महासंघले विशेष गरी यही जरिवाना व्यवस्थाप्रति असहमति जनाएको छ । अध्यक्ष बानियाले एकै पटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था यातायात व्यवसायीका लागि अत्यधिक आर्थिक भार हुने भएकाले यसलाई व्यवहारिक बनाउनुपर्ने बताए ।

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गैरकानुनी रुपमा ट्रेडमार्क प्रयोग गरेको भन्दै २ कम्पनी विरुद्ध उजुरी, ७ दिनको अल्टिमेटम

काठमाडौं । उद्योग विभागले ट्रेडमार्कको गैरकानुनी प्रयोगसम्बन्धी उजुरी परेका दुई कम्पनीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । विभागले युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र चौतारी सोप इन्डष्ट्रिजलाई ७ दिनभित्र आफ्ना सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न र उपस्थित हुन निर्देशन दिएको हो ।  मोरङको विराटनगर महानगरपालिका–४ स्थित युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र सुनसरीको सोनापुरस्थित चौतारी सोप इन्डष्ट्रिजले गैरकानुनी रुपमा फेना ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो ।  भारतको फेना प्राइभेट लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता कृष्ण ट्रेडस भएको दाबी गरिएको छ । विभागले यसअघि ७ दिने म्याद सूचना पठाएको भएपनि हालसम्म कुनै लिखित प्रतिक्रिया पेश नभएको तथा म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएको जनाएको छ ।  विभागले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम प्रक्रिया अघि बढाइने चेतानी दिएको छ । साथै, पछि कुनै उजुरी गर्न नपाउनेसमेत विभागको भनाइ छ ।