४ जिल्लामा आज १२ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा आज शनिबार १२ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ । यस्तै, मोरङको उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणको परीक्षण तथा सञ्चालन र दुहबी-दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअघि नै काम सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जनाएको छ ।

स्पा उद्योगको क्षमता विकासमा नेपाल स्पा संघको जोड

काठमाडौं । नेपाल स्पा संघले ‘स्पा उद्योगको क्षमता विकास’ विषयक क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । शुक्रबार काठमाडौंस्थित शंकर होटलमा एक कार्यक्रम आयोजना गरेर नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यले अन्तक्रिया सम्पन्न गरेको हो । नेपाल स्पा संघको सहकार्यमा आयोजित कार्यक्रममा स्पा उद्योगको वर्तमान अवस्था, उद्योगका चुनौती तथा सम्भावना, व्यवसाय सञ्चालनका मापदण्ड, आचारसंहिता, मानव संसाधन व्यवस्थापन तथा नैतिक व्यावसायिक अभ्यासलगायतका विषयमा सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।  कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मानव संशाधन, उद्योगका मापदण्ड तथा नैतिक व्यावसायिक अभ्यास  लगायतका विषयमा समूहगत छलफल गराइएको थियो ।  पाँचवटा समूहमा करिब सय जना सहभागीले छलफल गरी आ–आफ्नो समूहको निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए ।  साथै सहभागीहरूबाट स्पा तथा वेलनेस उद्योगको वर्तमान अवस्था र आगामी आवश्यकतासम्बन्धी सर्वेक्षणसमेत गरिएको थियो ।  सर्वेक्षणको संक्षेप तथा निष्कर्ष नेपाल स्पा संघका सचिव रामदेव महतोले प्रस्तुत गरेका थिए ।  कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरज घिमिरे तथा नेपाल पर्यटन बोर्डकी सदस्य सोभिता श्रेष्ठ ढकालले विशेष मन्तव्य राख्दै नेपालको स्पा तथा वेलनेस उद्योगको विकास, सम्भावना र आगामी दिशाका विषयमा धारणा प्रस्तुत गरेका थिए । नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन गुणस्तरीय सेवा, दक्ष जनशक्ति, स्पष्ट व्यावसायिक आचारसंहिता, सुरक्षित तथा मर्यादित कार्य वातावरण र उद्योगका साझा मापदण्ड आवश्यक रहेकोमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए ।  पोखरा, भैरहवा, इटहरीलगायत देशका विभिन्न प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा पनि यस्तै क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम स्पा संघले जनाएको छ । नेपालको पर्यटन तथा वेलनेस क्षेत्रको महत्वपूर्ण अंगका रूपमा विकसित हुँदै गएको स्पा उद्योगलाई थप मर्यादित, सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन व्यवसायी, श्रमिक, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ ।

गाभीले नेपाललाई करिब ४ करोड डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०२७ देखि २०३० सम्मको अवधिमा नेपाललाई करिब ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्यबारे भएको उच्चस्तरीय छलफलमा खोप सहयोग र नगद अनुदान उपलब्ध गराउने गाभीले प्रस्ताव गरेकाे हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीको आगामी सहयोगबारे छलफल भएकाे थियाे । प्रस्तावअनुसार गाभीबाट प्राप्त हुने सहयोगका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ । हाल गाभीले सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ । बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी वित्तीय रूपमा दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।