सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व तथा यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक र सामाजिक चालचलनसम्बन्धी सामग्री उत्पादन भइरहेका छन् । सामग्रीको आधिकारिकताका पुष्टि गर्न इतिहास र लिपिको अध्ययन, पुराना व्यक्तित्वहरुसँग अन्तर्वार्ता लिइसकेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए । महानगरले चालु आर्थिक वर्षका नीतिमा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई प्रवद्र्धन गर्ने, वसन्तपुर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र वसन्तपुरलाई सम्पदा मार्गका रुपमा विकास गर्ने, यी स्थानहरुको प्रवद्र्धनका लागि रणनीतिक, व्यावसायिक र पर्यटकीय मार्ग पहिचान र नक्साङ्कन गर्ने उल्लेख  छ । यही नीति कार्यान्वयन गर्ने क्रममा थालिएको कार्यक्रममा पर्यटकलाई प्रदर्शन गरिने अडियो, भिडियो तथा दृश्यात्मक सामग्री उत्पादन गर्ने क्रममा स्वयम्भू क्षेत्रमा एक सय ८८ वटा, हनुमान ढोका दरबार क्षेत्रमा ४१ वटा, वौद्ध क्षेत्रमा सातवटा, हाँडीगाउँ क्षेत्रमा २० वटा पशुपति क्षेत्रका ५६ वटा स्मारकको अध्ययन गरिसकेको महानगरले जनाएको छ । सङ्गतले भने, ‘तर गलत सूचना भयो भने यो सुधार गर्न पनि सकिँदैन र छुट दिन पनि सकिँदैन ।’ उनले सामग्रीको आधिकारिता र पुष्ट्याइँका विषयमा कुरा गर्दै काठमाडौंको प्राचीनता, मौलिकतासँग जोडिएका सामाजिक र सांस्कृतिक परम्परा सामग्रीको मर्म रहेको बताए । ‘यसरी उत्पादित सामग्रीहरु दिगो उपयोगका लागि हुन् । यसका लागि अध्ययन गर्ने, प्रारम्भिक सूचना तथा प्रशोधित सूचनामा काम गर्ने, प्राप्त सूचनालाई आधिकारिकता प्रदान गर्ने संयन्त्र निर्माण गरौँ’, समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘यो हतारमा सक्ने काम होइन । सहभागिता र सहकार्यलाई निरन्तरता दिएर काम गरौँ ।’ स्मार्ट पर्यटनका लागि महानगर स्वर्णिम योजना ‘पर्यटकीय सहर’ कार्यक्रमअन्तर्गत प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण अध्ययन गरिएको थियो । ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका २९ देशका एक सय २५ पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए ।

सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त छन् । ‘पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन’, अधिकारीले भने, ]यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।’ चिया रोपण, मलजल, सिँचाइ र छाँटकाँटमा ध्यान पुर्याउन सक्दा उत्पादन वृद्धि हुने किसान बताउँछन् । ‘चियाको गुणस्तर सुधार गर्न रोपणबाट टिपानसम्म नै किसानले ध्यान दिनुपर्छ ।’ सूर्योदय–७ गोगनेका गणेश भट्टराईले भने, ‘कटिङ बिग्रियो भने चियाको उत्पादन घट्छ । गुणस्तर सुधार गर्न पनि कटिङमा सचेत हुनुपर्छ ।’ चिया कटिङ प्राविधिक ज्ञान र सीप भएकाले मात्र गर्नुपर्छ । सीप भएकालाई रोजगारीको राम्रो अवसर पनि छ । गत वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा इलामका किसानले चिया कटाइसम्बन्धी तालिम प्राप्त गरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । उनका अनसार उक्त तालिमले केही दक्ष जनशक्ति तयार भएको छ । चियाको काँटछाँट र टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या भएपछि सूर्योदय नगरपालिकाले यहाँ प्राङ्गारिक चिया उत्पादनको अभियान नै चलाइरहेको छ । छ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयले उत्पादन गुणस्तरीय बनाएर विश्वबजारमा निर्यात वृद्धि गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘पहिले हाम्रो चिया भारतले किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसका अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ’, नगरप्रमुख राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।’ चियाको टिपाइ सुधार गर्न नगरपालिकाले यस वर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरेको छ । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सयवटा चिया टिप्ने हातेमेसिन वितरण गरिएको छ,’ उनले भने, ‘चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एण्ड रिसर्चिङ सेन्टर’ पनि भर्खरै सञ्चालनमा आएको छ ।’ ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ नारा नै रहेको छ । विसं २०७५ साउन १ गते नै निषेधित विषादीमुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिकउन्मुख अभियान चलाइरहेका छौँ’, उनले भने । नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । ‘उत्पादन नै विषादीयुक्त हुँदा चियाखेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नुपर्छ’, नगरप्रमुख राईले भने । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । ‘असी प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रू एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ’, किसान छविलाल पौडेलले भने । नेपाली चियाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ प्रवर्द्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईँले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान छन् । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालक बताउँछन् । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्म रू दुई अर्ब ७० करोड ३९ लाख ३६ हजारको चिया निर्यात भएको झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क छ । यो समयमा एक करोड २७ हजार २१९ किलो चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही समय अर्थात् साउनदेखि मङ्सिरसम्म रू एक अर्ब ६४ करोड ७५ लाख ७३ हजारको मात्र चिया निर्यात भएको थियो । सो समयमा ६९ लाख ४० हजार छ सय ६० किलो चिया निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्यो : बालेन शाह

काठमाडौं । प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् । क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने,  ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ ।’ उनका अनुसार पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो, अहिले महानगरपालिका भित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ । यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ’, परीक्षण अधिकारीलाई प्रश्न गर्दै उनले भने । प्रदेशले कर घटाएकोमा रूष्ट महानगर प्रमुख शाहले अगाडी भने, ‘यसरी राजस्व घटे पछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रुपमा दिएको बहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ। नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औल्याउनु पर्छ ।’