बञ्चरे डाँडामा ‘क्यापिङ्’ लागि माटो पाउन कठिन
काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौं उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ । फोहरलाई खुला छोड्न पाइँदैन । त्यसलाई हरेक दिन छोप्नुपर्छ । यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ । माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो । कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहरलाई व्यवस्थापन गर्नका लागि दैनिक ५० टन माटोको आवश्यकता पर्छ । दैनिक रुपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ । उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ सधैं यसरीले ल्याउन मिल्ले अवस्था नभएको प्रवक्ता मानन्धरले बताए । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडीले फोहर ओसार्ने गरेका छन् । उपत्यकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो । विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहरको व्यवस्थापनको काम हुँदा लेवल मिलाउन अलि समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग कामपाले आग्रहसमेत गरेको छ । ‘सेल वान’मा फोहरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ । अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरको भनाइ छ । अहिले फोहरबाट निष्कने तरल पदार्थ (लिचड) रहने स्थान पनि भरिएको कारण समस्या भएको कामपाको भनाइ छ । गत साउन महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहर अन्तिम विसर्जन स्थानमा लानुपर्ने बाध्यताको कारण छोटो समयमानै लिचड राख्ने स्थान भरीएको बताइएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । ‘कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकारसँग छलफल गरिरहेको छ, स्थान प्राप्त हुन बित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ,’ प्रमुख श्रेष्ठले भने । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।
ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको छ : चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । बुधबार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए । उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पु¥याउन प्रतिवद्ध रहने बताए । उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि शुरु गरिसकेको बताए । उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम शुरु गरेको बताए । उनले भने, ‘अब आउँदो आर्थिक वर्षदेखि ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय गरेर काम गर्नेछौँ । हामीले काम गर्नको लागि बजेट कुर्नु आवश्यक छ । त्यसपछि हामी कन्जुसम, महाकांल, वागमती गाउँपालिकाहरुमा स्काउड एक्टिभिटी बढाउन तयार छौँ । सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएका छौँ, र हामीसँग भएको १५ रोपनी जग्गामा हरियाली र पानीजन्य प्रोजेक्ट शुरु गरिसकेका छौँ । २ वर्ष भित्रमा त्यहाँ हामी कमलको फूल फुलाउनेछौँ ।’ स्काउट प्रवर्तक लर्ड वेडेज पाल्वे तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट वागती प्रदेशले सो कार्यक्रम गरेको हो ।
भोजपुरको पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबिच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका दरले २४ लाख ३८ हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै, दोस्रो वर्षमा प्रतिविद्यालय १८ हजार रुपैयाँका दरले छ लाख बराबररुपैयाँको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिइन् । सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ । रासस