मगर दिवसमा निसीखोला गाउँपालिकामा आज सार्वजनिक बिदा

ढोरपाटन । निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए। मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो। मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। ‘पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई भव्य रुपमा मनाउने गरिएको छ, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरूले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नुपर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ’, अध्यक्ष  घर्ती मगरले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् । ‘सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ । रासस  

गुल्मीमा शिक्षकले पाएनन् पारिश्रमिक

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताए । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो । कात्तिकदेखि तलब नआउँदा आफूहरुलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो थियो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजानबाट सहयोग नपाए शिक्षकहरुलाई स–सम्मान बिदाइ गर्ने बाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरुसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखि स–सम्मान बिदाइ गरिने उनले उल्लेख गरे । रासस

५ वर्षपछि पुनः प्रयोगमा ल्याइँदै वायोग्यास प्लान्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । ‘छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ’, उनले भने । उक्त परियोजना लागि युरोपियन युनियनले चार करोड ६० लाख र कामपाले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए । एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । विसं २०७०देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो । लामोसमयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ । सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । रासस