आँबूखैरेनी गाउँपालिकाको विपद् कोषलाई बीमासँग आवद्ध गराउँछौं : अध्यक्ष चुमान

काठमाडौं । गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले गत फागुन ७ गते आयोजना गरेको जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गर्न र विपन्न वर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए । साथै, उनले बीमा कम्पनीहरुले गाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरेका हुन् । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोकप्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९५ जनाको सहभागिता रहेको थियो ।

भक्तपुर नगरपालिकाद्वारा इञ्जिनीयरिङका विद्यार्थीलाई ६१ लाखको छात्रवृत्ति रकम वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे ।   उनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए । भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिँदै उनले नगरपालिकाले अन्य विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत उपलब्ध गराउँदै आएको बताए। भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ । ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवालले निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजले इञ्जिनीयरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए।  नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजका विद्यार्थीलाई ३२ लाख नौ सय र ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीलाई २९ लाख ३६ हजार गरी ६१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।

कार्यसम्पादनमा धुलिखेल नगरपालिका उत्कृष्ट

काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ६२ दशमलव १३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ । चौंरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१ दशमलव ८५, रोशी गाउँपालिकाले ६१ दशमलव १२, बेथानचोक गाउँपालिकाले ५९ दशमलव ८७, पनौती नगरले ५५ दशमलव ३८, भुम्लु गाउँपालिकाले ५२ दशमलव ९०, खानीखोला गाउँपालिकाले ५२ दशमलव २८, पाँचखाल नगरले ५२ दशमलव २५, तेमाल गाउँपालिकाले ४९ दशमलव ८७, मण्डनदेउपुर नगरले ४६ दशमलव ५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन् । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । सोही अनुसार बागमती प्रदेशले भने ३६ दशमलव एक अङ्क प्राप्त गरेको हो । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ । ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ । रासस