जुम्लाको पातारासीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने

जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष–उपाध्यक्ष कार्यक्रममा छुट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्न हिउँदे गाउँसभाबाट पारितसमेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए । नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुई जनालाई निःशुल्क एमबिबिएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष सात लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिए । वडा नं ४ निवासी नवीन रेउलेलाई एमबिबिएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ। रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् । यस्तै गाउँपालिकाले आफ्नो अर्धवार्षिक समीक्षामा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने सङ्घीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको जनाएको छ । पातारासीकै उच्च स्थान लोटचौरमा खेलकुद तालिम केन्द्रका लागि ५० लाख रुपैयाँ गाउँपालिकाको पहलमा सङ्घीय सरकारले विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । रासस

बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

बझाङ। सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख रुपैयाँ बराबर किसानले आम्दानी गरेका छन् । ‘हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो, उनले भने, ‘सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पु¥याएका छन् ।’ सुर्माबाट बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो । यहाँका किसानले काउली र गोलभेडामै जनही तीन लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्याङ्कमा उल्लेख छ । उक्त गाउँपालिकाको सबैभन्दा बढी तरकारी उत्पादन वडा नं २ घोगाडा, वडा नं ३ विछडा र वडा नं ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिए । सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी पुग्ने गरी तरकारी उत्पादन गरिरहेको छ । उनका अनुसार पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ । अध्यक्ष बोहराले भने, ‘यो दुई/तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र सोहीअनुुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले अब थप उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’ रासस

बालेन शाहसँग जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै अरु १ लाख २३ हजार उम्मेदवारलाई न्यूनतम १ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । आयोगको उक्त निर्णयविरुद्ध शाह सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही निवेदनको सुनुवाइपछि अदालतले जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।