धुलिखेल नगरपालिकाले कृषिमा जापानिज सीप र प्रविधि भित्र्याउँने

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको छ । कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए । उनका अनुसार सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने छ । ‘जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरपालिकाले प्रविधिमा सहयोग गर्नेछ’, ब्याञ्जूले भने । उनले करिब एक महिनापछि दुई पक्षबीच सम्झौता गरिने सहमति भएको बताए । नगरपालिकाले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि नगरपालिकाको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यसैबीच नगरपालिकाले एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय नगर धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरिएको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । ‘अब रोपिएका बिरुवामा जिपिएस् जोडिएको छ’ उनले भने ‘उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ ।’ उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो । रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पुर्याउने योजना बनाइएको जनाइएको छ । नगरपालिकाले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिसाजन्य फोहारबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरपालिकाले जनाएको छ । साथै टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए । विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबद्ध तवरले निरन्तरता दिइने जनाइएको छ । गत असार तेस्रो साता संयुक्त राष्ट्र सङ्घ न्युयोर्कमा नगरप्रमुख ब्याञ्जूले धुलिखेल दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धताबमोजिम १७ लक्ष्यका चार विकास लक्ष्य शून्य गरिबी, सुस्वास्थ्य, गुणस्तरीय शिक्षा तथा सफा पिउने पानी पूरा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै नगरपालिकाले सार्वजनिक गरेको ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ मा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ । नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरपालिकाले ८४ प्रतिशत जनसङ्ख्याको घरमा खानेपानी (एक घर–एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्नेका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नाका साथै काभ्रेपलाञ्चोकका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप-२६) मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरपालिकाले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ । नगरपालिकाले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरपालिकालाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौ‌ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । रासस

कोहलपुर नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच

  नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा रहेको शाहले उल्लेख गरे । यसअघि, लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर १ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर १ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो । यस्तै, वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको थियो । वडा नम्बर २ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम बुधवार पूरा भएको छ । ‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौँ,’ नगरप्रमुख आचार्यले भने । अबको केही महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगरप्रमुख आचार्यले बताए । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर १२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट नौ जना, भूमि आयोगबाट छ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना गरी २१ जना अमिनको टोली खटिएको छ । ‘जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ,’ उनले भने । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन् । रासस

प्रहरी बिटमा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । महानगरको  नगरप्रहरीले मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट प्रहरीकै सहकार्यमा  भत्काएको हो । मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको महानगरले भत्काएको जनाएको छ । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो । सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।