कृषि कर्जाको ब्याज नगरपालिकाले भुक्तानी गर्ने
काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा परेको असरका कारण अधिकांश क्षेत्र समस्यामा परेका छन् । बैंकको उच्च ब्याजको मारमा उद्योगी व्यवसायीसँगै कृषक पनि परेका छन् । उच्च ब्याजकै कारण कृषकलाई ठूलो समस्या परेको गुनासो पनि सुनिन्छ । यो गुनासो आइरहेको बेला काठमाडौंको दक्षिणकाली नगरपालिकाले कृषकलाई सहज हुने नीति अघि सारेको छ । दक्षिणकाली नगरपालिकाले कृषकहरूलाई कर्जाको व्यवस्था गरेर त्यो कर्जाको ब्याज तिरिदिने नति अघि सारेको छ । नगर क्षेत्रभित्रका कृषकहरुले बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिर्ने व्यवस्था मिलाएको नगरप्रमुख मोहन बस्नेतले बताए । किसानलाई कृषि उत्पादनमा आधारित बैंक ब्याजमा अनुदान दिने उद्धेश्यका साथ यो नीति अघि सारिएको उनको भनाइ छ । अहिले नगरपालिकाले कृषि उत्पादनमा वृद्धि तथा युवा जनशक्तिलाई गाउँमै परिचालन गर्ने उद्देश्यले सो कार्यक्रम ल्याएको छ । नगरपालिकाले यो कार्यक्रम बैशाखदेखि नै लागू गर्न लागेको छ । नगर प्रमुख बस्नेतका अनुसार एउटा कृषकले १५ लाख रुपैयाँसम्मको बैंक ऋण लिन सक्नेछ । जसको ब्याज नगरपालिकाले तिर्नेछ । ‘दक्षिणकाली नगरपालिका कृषिको लागि प्रचुर सम्भावना भएको ठाउँ हो, यहाँ उर्वर भूमि छ, अहिले धेरै युवा रोजगारीको खोजीमा विदेशिएका छन्, विदेश जाने क्रमलाई रोक्न र आफ्नै गाउँ–ठाउँमा युवा तथा कृषकलाई प्रोत्साहन गर्नेका लागि ऋणको ब्याज नगरपालिकाले तिर्ने भएको हो,’ उनले भने । कृषकले लिएको ऋणको ब्याज तिर्नको लागि नगरपालिकाले बजेट पनि छुट्याएको छ । नगरपालिकाले कृषकहरुले लिएको कर्जाको ब्याज तिर्ने विषयमा केही दिनपछि सूचना जारी गर्दैछ । ब्याज मिनाहा गर्नको लागि नगरपालिकाले केही नीति नियम पनि बनाएको नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईले बताइन् । कृषकलाई बैंकबाट सहज किसिमले कर्जा पाउने व्यवस्था गर्नको लागि विभिन्न बैंकसँग पनि सहकार्य तथा समन्वय भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले कृषि र पशुको लागि भनेर लगभग ३० लाख रुपैयाँ बजेट छुट्याएको पनि राईले बताइन् । कसरी लिने कर्जा ? दक्षिणकाली नगरपालिका अहिले यो योजना कार्यान्वयनको तयारीमा छ । शाखा प्रमुख राईका अनुसार यही वैशाखबाट कृषकले लिएको कर्जाको ब्याज तिर्ने व्यवस्था लागू हुनेछ । कृषकले कृषिका लागि भनेर लगेको कर्जा अन्य क्षेत्रमा भने लगानी गर्न पाइने छैन । नगरपालिकाले चरणबद्ध रुपमा कर्जाको ब्याज तिर्ने पनि बताइएको छ । ब्याज नगरपालिकाले तिर्ने भएपनि सावाँ भने स्वयम् कृषकले नै तिर्नु पर्नेछ । दक्षिणकाली नगरपालिकाका भित्र सबै वडामा अहिले ३० वटा कृषि समूह छन् । कृषि समूह भित्र करिब ७ सयभन्दा बढी कृषकहरू आबद्ध छन् । राईका अनुसार कृषि समुह भित्र जोडिएका कृषकहरुले पहिलो प्राथमिकता पाउने छन् । कृषकले कुन व्यवसाय अर्थात् कुन खेतीका लागि ऋण लिन खोजिएको हो, सो विषयको प्रस्ताव नगरपालिकामा पेश गर्नु पर्नेछ । त्यसका साथ साथै कृषकले आफ्नो नागरिकता सँसँगै कुृषि दर्ता प्रमाणपत्र लगायत कागजात पनि नगरपालिमा पेश गर्नु पर्नेछ । कति लाग्छ समय ? नगरभित्रका सबै कृषकले एकै पटक यो सेवा पाउने छैनन् । नगरपालिकाले सो कार्यक्रम सुरु गरेपछि चरणवद्ध तरिकाले कृषकहरूको ऋणको ब्याज मिनाहा गर्दै जानेछ । यो कार्यक्रम नगरपालिकाले ल्याउनु भन्दाअघि कृषकले ल्याएको बैंकको ब्याज भने नगरपालिकाले तिर्ने छैन । यो सेवा एउटै कृषकले लामो समयसम्म उपभोग गर्न पाउने छैनन् । राईका अनुसार नगरपालिकाले निश्चित समयसम्मको लागि बैंकको ऋणको ब्याज तिर्ने छ । ‘हामीले अहिले कृषकले लिएको २ वर्षसम्मको ब्याज तिर्दिने भनेका छौं, तर यो समय कम हुन्छ, कुनै कृषिका सामाग्री उत्पादन समय लाग्नुका साथै त्यसबाट प्रतिफल आउन समय लाग्न सक्छ, त्यसैले समय अवधि बढाउने हो कि भनेर पनि कुरा गरिरहेका छौं,’ उनले भनिन् । नगरपालिकाले कृषिदेखि पशु बीमाको कामलाई पनि निरन्तरता दिइरहेको छ । नगरपालिकाका अनुसार चालू आर्थिक वर्षमा ३ सयभन्दा बढीको पशु बीमा गरेको पनि बुझिएको छ । बीमाको प्रिमियम पनि नगरपालिकाले भुक्तानी गरिरहेको छ ।
जापानमा कामदार पठाउन भाषा कक्षा सञ्चालन गर्दै धुलिखेल नगरपालिका
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले जापानिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । नगरवासीलाई जापानमा कृषि कामदार पठाउन भाषा तालिम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै जापानिज भाषा सिक्न चाहने इच्छुक विद्यार्थीहरूलाई अन्तर्वार्ताको लागि बोलाएको छ । नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गरेर सो भाषा कक्षा सञ्चालन गर्ने भएको हो । निकट भविष्यमा कृषि एवं पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न तथा प्रविधि मैत्री बनाउनका लागि गुणस्तरीय जापानी भाषा (एन-फो लेभल) तथा आवश्यक सीप सिकाइने सूचनामा उल्लेख छ । नगरपालिकाका अनुसार जापानिज भाषा कक्षा ६ महिना सञ्चालन हुनेछ । सो समयपछि परीक्षा र सीप परीक्षणबाट उत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई जापान पठाइने धुलिखेल नगरपालिकाको रोजगारी शाखाका विनोद सापकोटाले बताए । जापानिज भाषा कक्षामा समावेश हुँदा शुल्क पनि लाग्ने छ। सापकोटाका अनुसार महिनाको ३ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । नगरपालिकाले जापानिज भाषाको कक्षा धुलिखेलका महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गर्ने भएको छ । महिलाहरूलाई पहिलो प्राथमिकता दिएर कक्षा सञ्चालन हुने पनि सापकोटा बताए । उनका अनुसार भाषा उत्तीर्ण भएका २० जना महिलालाई जापान पठाइने छ । ‘हामीले यहाँबाट जापान पठाई सकेपछि त्यहाँको नवीनतम प्रविधिहरूमा अभ्यस्त गराई नेपाल फर्केपछि धुलिखेल नगरपालिका भित्र प्रविधिहरूको प्रयोग गरी व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ, इच्छुक तथा तोकिएको सीमा भित्र पर्ने नगरपालिका भित्रका महिलाहरूका लागि जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।
कैलालीका स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन
कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’ सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताउनुभयो । पहिलो किस्तामा एक करोड ९२ लाख रुपैयाँ र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो । चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए । चौधरीले भने, ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’ तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ । ‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ’, नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’ रासस