काठमाडौं महानगरले उठायो छ अर्ब बढी राजस्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो । चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ । विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ । यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ । कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारेको सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।
वालिङमा अनलाइनबाटै घर नक्सा पास
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास ब्यवस्थापन प्रणाली ९इविपिएस० अनुसार काम अगाडि बढिरहेको उनले बताए। ‘नगरपालिकाको इविपिएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ’, अर्यालले भने, ‘सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।’ अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए । फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको उनले बताए। वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउँछन् । अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ सालको मापदण्ड अनुसार ६०, नियमित अभिलेखीकरण (भूकम्प) २७ र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताए । अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शङ्कर बस्यालले बताए। ‘यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन’, उनले भने, ‘अनलाइन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ । अनलाइन प्रणालीबाट काम गर्दा कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजर र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ ।
वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुुर महानगर
भरतपुर । भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । महानगरका २९ वटै वडामा गएर गणकले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण सङ्कलन गर्नेछन् । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण तथा पाश्र्वचित्र निर्माण गर्न गणकलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलले प्रत्येक वडाबाट एक/एक गणकलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताए । ‘यो महानगरको एउटा महत्वपूर्ण काम हो’ उनले भने, ‘महानगरले अब वैदेशिक रोजगारीमा गएका व्यक्तिको दस्तावेज निर्माण गर्ने छ ।’ गणकले आगामी असार १५ भित्रमा तथ्याङ्क सङ्कलन गरेर महानगरपालिकामा बुझाइ सक्नुपर्ने निर्देशक पौडेलको भनाइ थियो । वडामा जाने गणकहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिको घरघरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिङ्ग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, बुझेर गए नगएको, सीप सिके नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनु पर्नाको कारण, फर्केर आएपछि व्यापार व्यवसाय गरे नगरेको जस्ता थुप्रै विवरण अध्यावधिक गर्ने छन् । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो विवरण सङ्कलन भएपछि वैदेशिक रोजगारीमा गएकाको यकिन तथ्या¬ङ्क आउने र फर्केर आएकाले महानगरपालिकाबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्ने जानकारी दिए । रासस